Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्यार्थीहरूमा मानसिक समस्या बढ्यो

विद्यार्थीहरूमा मानसिक समस्या बढ्यो

  • 1.0K
    SHARES
  • विद्यार्थीहरूमा मानसिक समस्या बढ्यो

    सांकेतिक तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लो समय बालबालिकाहरूमा मानसिक समस्या बढ्दै गएको देखिन्छ । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको सम्भाव्य फाउण्डेसनले करिब १२.९ प्रतिशत बालबालिकामा मानसिक समस्या रहेको उल्लेख गरेको छ ।

    फाउण्डेसनले काठमाडौंमा पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उक्त जानकारी गराएकाे हाे । फाउण्डेसनले शुक्रबार गरेकाे कार्यक्रममा विशेषगरी विद्यालयस्तरमा अध्ययनरत १३ वर्षदेखि १७ वर्षका बालबालिकाहरूमा मानसिक समस्या बढी रहेको जनाएको छ ।

    उक्त कार्यक्रममा उपत्यकाभित्र तथा बाहिरका विभिन्न स्कूलका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । ‘विद्यालय तहमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्शको आवश्यकता’ भन्ने नीति लिँदै सबै विद्यालयहरूले बालबालिकाको मानसिक स्वास्थ्यको बारेमा सचेत हुनुपर्ने बेला आएको उपस्थित शिक्षकहरुको भनाइ थियो ।

    उपत्यकाबाहिर मानसिक स्वास्थ्यलाई लिएर धेरै जना अनभिज्ञ रहेको फाउण्डेसनका कार्यक्रम संयोजक आदित्य डंगोलले जानकारी दिए । ‘नेपालमा हजार जना बालबालिकहरूमध्ये ३ जनामा मानसिक समस्या रहेको छ,’ डंगोलले भने, ‘विद्यालयस्तरमा मानसिक स्वास्थ्यलाई अगाडि बढाएर भविष्यका कर्णधार बालबालिकाहरूको सुनौलो भविष्य निमार्णको लागि प्रत्येक स्कूल, शिक्षक र अभिभावकहरूले कदम चाल्न आवश्यक छ ।’  मानसिक स्वास्थ्यबारे घर, परिवार, समाजमा सचेतना जगाउन आवश्यक रहेको उनको तर्क छ ।

    त्यसैगरी कोरोना महामारीपश्चात नेपालका बालबालिकाहरूमा डिजिटल अटिज्मको समस्या बढिरहेको क्यारिवियन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष दाहालले बताए । ‘पछिल्लो समय धेरैजसो मानिसहरू संयुक्त परिवारभन्दा एकल परिवारमा बस्न रुचाउँछन् । जसकारण बालबालिकाहरूको उचित स्याहारसुसार नहुँदा एकोहोरिएर बस्ने, व्यवहारिक समस्या, अटेरी, जिद्दीपन, रिसाहा, मनोसमस्या तथा सामाजिक नहुने समस्या बढ्दै गइरहेको छ,’ उनले भने । बालबालिकालाई सहज वातावरण निमार्ण गरि उनीहरूको समस्या सुल्झाउनतिर ध्यान दिन आवश्यक रहेको दाहालले बताए ।

    फाउण्डेसनले नेपालभरिका विद्यालयमा ‘हरेक विद्यालयमा कम्तीमा एकजना मनोसामाजिक परामर्शदाता हुनुपर्छ’ भन्ने नारासहित सामुदायिक विद्यालयहरूमा निःशुल्क मनोपरामर्शदाता उपलब्ध गराउने अभियान चलाइरहेको छ ।

    foundation.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij