वेबटिभी खबर
काठमाडौं । आजबाट १२ देखि १८ वर्षसम्मका स्वस्थ बालबालिकालाई पनि कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ।
यसअघि सो उमेर समूहका दीर्घरोग भएका बालबालिकालाई खोप दिइएको थियो। आइतबारदेखि मंगलबारसम्म भने स्वस्थ बालबालिकालाई पनि खोप दिने निर्णय भएको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।
उनकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् । दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि स्वस्थ बालबालिकालाई पनि खोप लगाउने निर्णय भएको हो।
काठमाडौं उपत्यकाभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल छन् । यसैगरि, निजामती सेवा अस्पताल, सहिद गङ्गालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीरेन्द्र सैनिक अस्पतालसमेत काठमाडौं उपत्यकामा नौ वटा अस्पताल तोकिएका छन् ।
कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गएको कात्तिक २८ गतेदेखि दीर्घ रोग भएकालाई लगाउन थालिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij