Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

किन भयो एआइजीलाई थुन्ने प्रयास ? 

किन भयो एआइजीलाई थुन्ने प्रयास ? 

  • 7.3K
    SHARES
  • किन भयो एआइजीलाई थुन्ने प्रयास ? 

    काठमाडौं । नेपाल प्रहरीको आइजीपी कसलाई बनाउने भन्ने कुरा जहिल्यै विवादित हुने गर्छ । २०४६ सालको परिवर्तन पश्चात् प्रहरीमा सहजै आइजीपी बनेका उदाहरण विरलै छन् ।

    images

    इन्सपेक्टरमा भर्ना भएर सँगै तालिम गर्दाका घनिष्ठ साथीहरू नै माथिल्लो पदमा पुग्दै गएपछि बढुवाका लागि आफ्नै साथीविरुद्ध जुनसुकै हथकण्डा अपनाउन पछि पर्दैनन् । संगठन प्रमुख (आइजीपी) हुनका लागि खुलेआम हुने गरेका अस्वस्थ प्रतिस्पर्धा नेपालमा अब लुकेको छैन । त्यतिमात्र होइन आइजीपी भइसकेपछि पनि आफ्ना ब्याजी एआइजीहरूले अपदस्थ गर्लान कि भनेर त्रास पनि देखिन्छ ।

    त्यसैले त प्रहरीमा भर्ना भएर सँगै जागीर सुरु गरेका, संघर्षका बेला एकअर्कालाई सहयोग गरेका ब्याजीहरु प्रकारान्तले बढुवाका बेला शत्रूमा परिणत हुन्छन् । एकले अर्कालाई खेदो खन्ने गरेको देखिन्छ । यसको ज्वलन्त उदाहरण नवराज सिलवाल र जयबहादुर चन्दको पालामा देखिएको थियो । चन्दलाई सरकारले आइजी बनाउने निर्णय गरे पनि सिलवालले मुद्दा दिएर त्यो रोकाएका थिए । पछि दुबैजना आइजीपी हुन पाएनन् ।

    तर,यसपटक शैलेश थापा क्षेत्री आइजीपी हुने बेलामा भने प्रहरीमा अलि फरक दृष्य देखियो । एकै पटक एआइजी भएका क्षेत्री र हरिबहादुर पाल आइजीपीका दावेदार थिए । तर,उनीहरुले आइजीपीका लागि अस्वथ प्रतिस्पर्धा गरेको सुनिएन् । थापा सहजै आइजीपी बने । अर्का एआइजी पालले महानगरीय प्रहरी परिसर रानीपोखरीको कमाण्ड सम्हाले ।

    क्षेत्री आइजीपी बन्ने बेलामा पालले सौहार्दता देखाए पनि केपी ओलीको सरकार परिवर्तन भएपछि थापाले पालबाट खतरा महसुस गरे । किनकी शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग पालको क्याम्पस पढ्दादेखिकै निकटता थियो । खाँडले विद्यार्थी राजनीति गर्दा पाल जुनिएरका रूपमा उनका सहयोगी थिए ।

    खाँडले कतै पाललाई आइजीपी बनाउने हुन कि भन्ने शंकाले पालविरुद्ध षडयन्त्र सुरु भयो । यो अवधिमा क्षेत्रीको कमजोर कमाण्डको विरोध पनि हुन थालेको थियो । संगठन प्रमुखको कमाण्डका लागि क्षेत्रीभन्दा पाल निकै योग्य मानिन्छन् । यही सेरोफेरोमा पालविरुद्ध गृहमन्त्री खाँडको कान भर्ने खेल सुरु भयो । यसमा क्षेत्री र पालका विरोधि प्रहरी अधिकृत सफल भए । काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहको सरुवा रातारात रोकियो । त्यो रोकाउनमा पालको भूमिका रहेका भन्दै गृहमन्त्रीलाई सुनाइयो । त्यो घटनापछि गृहमन्त्री पालसँग चिढिए ।

    गृहमन्त्री पालसँग रिसाएको मौका छापेर एउटा समूहले पाललाई एआइजीबाटै हटाउने प्रयास थाल्यो । त्यसको लागि बहाना बन्यो पाल प्रदेश २ को प्रहरी प्रमुख हुँदा सर्लाहीमा प्रहरी कारबाहीमा मारिएका विप्लव समूहका नेता कुमार पौडेल घटना । त्यो घटनामा पौडेलको परिवारले दिएको जाहेरी सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले दर्ता गरेको थियो । तत्कालीन गृहमन्त्री, आइजीपी, प्रदेश प्रहरी प्रमुख, जिल्लाका सिडिओ र एसपी, लालबन्दी इलाका प्रहरी कार्यालय प्रमुख, पोष्टमार्टम गर्ने चिकित्सकमाथि पनि जाहेरी दिइएको थियो ।

    सोही जाहेरीका आधारमा पाललाई पक्राउ पूर्जी जारी गर्ने र निलम्बन गर्ने तयारी भित्रभित्र भयो । गृहमन्त्रीलाई त्यसका लागि तयार बनाउने काम प्रहरीभित्रै पालविरोधि समूहले गर्यो । त्यसमा क्षेत्री प्रत्यक्ष सहभागी नभए पनि ‘यसो गर्नु हुँदैन’ भनेर रोक्ने काम भने उनले गरेनन । यो नै कमजोर कमाण्डको उदाहरण हो ।

    सर्लाही जिल्लामा पक्राउ पूर्जीका लागि निर्देशन गएपछि सूचना लिक भएर प्रधानमन्त्री शेरबहादुर देउवाकोमा पुगेपछि मात्र पाललाई पक्राउ गर्ने योजना तुहियो । देउवाले हस्तक्षेप गरेर यो बेतिथि हुन दिएनन् । समयमै प्रधानमन्त्रीलाई यो कुराको जानकारी नभएको भए अन्यथा हुनसक्ने सम्भावना थियो । प्रधानमन्त्रीलाई जानकारी नभइ एआइजी पक्राउ गर्ने तयारी थालिनुले बालुवाटारलाई पनि झस्काएको छ । विश्वास गरेर बनाएको गृहमन्त्री खाँडले जथाभावि गर्न थालेपछि बालुवाटार अहिले असन्तुष्ट बनेको छ ।

    तत्कालीन फाइदाका लागि पालमाथि षडयन्त्र गर्दा भविष्यमा आफू पनि यस्तै कुनै घटनामा फस्न सकिन्छ भनेर कुनै प्रहरी अधिकृतले नसोच्नुको परिणाम गम्भीर हुने एक अधिकृत बताउँछन् । ‘यस्ता षडयन्त्र हुनु संगठनका लागि घातक हो,’ ती अधिकृतले भने, ‘भोलि आफूमाथि पनि गर्नका लागि बाटो खोल्ने काम गर्दा संगठन झन कमजोर हुँदै जाने सम्भावना बढ्छ ।’ अझै पनि पालविरुद्ध षडयन्त्र बुन्ने काम नरोकिएको स्रोत बताउँछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology