वेबटिभी खबर
काठमाडौं । नेपाल बार एशोसियसनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको विषयमा आफ्ना धारणा राख्दै सहयोगको लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसँग भेटेपछि बारका अध्यक्ष चण्डि श्रेष्ठले न्यायपालिकामा व्याप्त विसङ्गती र विचौलिया प्रवृत्तिविरुद्ध एक महिनादेखि कानुन व्यवसायी आन्दोलनमा रहेको विषयमा जानकारी गराएको बताए ।
‘अहिलेको निकास भनेको प्रधानन्यायाधीशको राजीनामा भएको कुरा हामीले राख्यौं,’ श्रेष्ठले भने, ‘यसका लागि संविधान बमोजिम प्रतिनिधिसभामा रहेका दलहरूले गर्नुपर्ने भूमिकाका विषयमा पनि कुरा राख्यौं ।’
सर्वोच्च अदालतमा जारी समस्याबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूलाई आज बालुवाटार बोलाएका थिए । प्रधानमन्त्रीसँग भेट गर्न बारका पदाधिकारी, पूर्वअध्यक्षहरू, पूर्वमहासविचहरू, वरिष्ठ अधिवक्ताहरू गएको श्रेष्ठले जानकारी दिए ।
भेटका क्रममा प्रधानन्यायाधीश जबराको अनिवार्य बहिर्गमन हुनुपर्ने माग कानुन व्यवसायीहरूले राखेका थिए । न्यायपालिकामा नैतिकता महत्त्वपूर्ण हुने भएकाले निकासका लागि जबराले राजीनामा दिनुपर्ने कुरा राखिएको श्रेष्ठले बताए ।
‘हामीले भनेका विषय प्रधानमन्त्रीले गम्भीर भएर सुन्नुभयो,’ श्रेष्ठले भने, ‘यस विषयमा आजभोलि नै सरकारमा रहेका दलहरूबीच छलफल गर्ने कुरा प्रधानमन्त्रीले भन्नुभयो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij