पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताए ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उनले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।
'खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ', उनले भने 'आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।'
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने 'नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।' प्रतियोगिता एभरेष्ट युवा क्लब गैँडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।
खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिए । शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई रु ३० हजार र ट्रफी तथा उपविजेतालाई रु २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology