Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विश्वमा चिन्ता जगाउने ओमिक्रोन, नेपालमा जोखिम कति ? 

विश्वमा चिन्ता जगाउने ओमिक्रोन, नेपालमा जोखिम कति ? 

  • 620
    SHARES
  • विश्वमा चिन्ता जगाउने ओमिक्रोन, नेपालमा जोखिम कति ? 

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले पुनः एक पटक विश्वलाई नै चिन्तामा पारेको छ । हालसम्म अत्यधिक संक्रामक क्षमता मानिएको डेल्टाभन्दा ७ गुणा बढी संक्रामक क्षमता रहेकाे ओमिक्रोन भाइरस आएपछि त्यसबाट बच्न विश्वका शक्तिशाली राष्ट्र अमेरिका, क्यानडा, बेलायत, चीन, युरोपियन मुलुक र छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन् । 

    images

    दक्षिण अफ्रिकामा केही दिनअघि देखिएको कोभिड-१९ को नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘ओमिक्रोन’ नाम दिएको छ । सुरुमा यसलाई बी.१.१.५२९ नाम दिइएको थियो । डब्लूएचओले यस भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ । 

    डब्लूएचओले दक्षिण अफ्रिकाका सबै प्रान्तमा नयाँ भेरियन्टको भाइरस पुष्टि भइसकेको शुक्रबार नै सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकाका ३ प्रान्तमा पुष्टि हुने ९० प्रतिशत केसहरुमा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि भएको छ । 

    ११ नोभेम्बरमा दक्षिण अफ्रिकाको वोत्सवानामा पुष्टि भएको ‘ओमिक्रोन’ भेरियन्टले विश्वमा कोरोना भाइरस संक्रमणको नयाँ लहर ल्याउन सक्ने आंकलन वैज्ञानिकहरुले गरिरहेका छन् । पहिलो पटक वोत्सवानामा पुष्टि भएको यो भाइरस हङ्कङ, इजरायल र बेल्जियममा पनि फेला परेको छ ।

    नेपालमा कति जोखिम ? 

    पहिलो पटक अफ्रिकी देश वोत्सवानामा पुष्टि भएको डेल्टा भेरियन्टले नेपालमा कोरोना कहरको दोस्रो लहर ल्याउन मुख्य भूमिका खेलेको थियो । त्यसैले ओमीक्रोन नेपाल आउँदैन भन्न सकिन्न । 

    बढी संक्रामक क्षमता भएका भाइरस देखिएको अवस्थामा नेपालमा पनि उच्च सतर्कता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । 

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले अहिले कोभिडको कहर केही घटे पनि सतर्कता भने जरुरी रहेको बताए । 

    ‘दक्षिण अफ्रिकामा भेटिएको ओमीक्रोन भाइरसलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कनसर्नअन्तरगत राखेको छ’, डा. पुन भन्छन्, ‘यो भाइरसको म्युटेसन मुख्य चिन्ताको विषय हो ।’ मुख्यतया यसले शरीरमा बनेको एन्टीबडिलाई छल्न सक्छ कि सक्दैन भन्ने अहिले अध्ययन भइरहेको उनले जानकारी दिए । 

    ‘खुला नाका र हवाईमार्गका कारण नेपाल पनि जोखिममा रहेको छ,’ उनले भने, ‘तत्काललाई हवाईमार्गबाट आउनेमाथि विशेष ध्यान दिन आवश्यक छ ।’ 

    कोरोना भाइरसको नेपाल प्रवेश नै हवाईमार्गबाट भएकाले बाह्य देशबाट आउने प्रत्येक नागरिकलाई ध्यानमा राखि स्क्रिनिङ गर्न जरुरी भएको चिकित्सकहरुले औंल्याएका छन् ।

    पहिले लागू गरिएका जनस्वासथ्यका मापदण्ड कार्यन्वयनमा ल्याइने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकालगायत अन्य देशहरुमा नयाँ भेरियन्ट देखिएको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बाह्य देशबाट आउने प्रत्येक नागरिकलाई पहिले नै लागू गरिएको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा ल्याउने बताएका छन् । 

    कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि काठमाडौंमा आइतबार सीसीएमसीको बैठक बस्दै छ । बैठकमा स्वास्थ्य विज्ञहरुको दिएको सुझावका आधारमा नयाँ भेरियन्ट भित्रिन नदिन आवश्यक तयारी गरिने प्रवक्ता डा. पौडेलले जानकारी दिए । 

    कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेसँगै बेलायतलगायत धेरै राष्ट्रहरुले दक्षिण अफ्रिका आवतजावतमा प्रतिबन्ध लगाएको छ । 

    नयाँ भेरियन्ट पत्ता लागेसँगै बेलायत, अस्ट्रिया, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, अमेरिका, साउदी अरब, श्रीलङ्का, ब्राजिल, भारतलगायत देशहरुले अफ्रिकी देशहरुबाट आउने हवाई उडानमा रोक लगाएका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology