वेबटिभी खबर
काठमाडौं । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्धारित समयभन्दा ७ घण्टा ढिला गरी मतदान सुरु भएको छ ।
मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले बिहान ४ बजे विद्युतीय मतदान गरी निर्वाचन सुरु गरेका हुन्।
ओलीसहित शीर्ष नेताहरू सबैले मतदान गरिसकेका छन् भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले पनि मतदान गरिसकेका छन् । निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार एकजनालाई मतदान गर्न कम्तीमा ८ देखि १० मिनेट लाग्नेछ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव हुँदैछ ।
अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध निर्वाचित भएका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij