Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

मानवीय संवेदनालाई छुनेगरी नियात्रा लेख्न जरुरी छः छविरमण सिलवाल

मानवीय संवेदनालाई छुनेगरी नियात्रा लेख्न जरुरी छः छविरमण सिलवाल

  • 277
    SHARES
  • मानवीय संवेदनालाई छुनेगरी नियात्रा लेख्न जरुरी छः छविरमण सिलवाल

    छविरमण सिलवाल समकालीन नेपाली साहित्यमा पढिएको र चिनिएको नाम हो । नेपाली साहित्यमा फरक पहिचान बनाउँदै आएको ‘सातकवि’ मा उनी पनि सम्मिलित छन् ।  सातकविमा सम्मिलित आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीमध्ये सिलवाल नेपाली नियात्रा लेखनमा पनि क्रियाशील छन् । उनको नियात्रा संग्रह ग्रिनविचको साँझ ०७५ सालमा प्रकाशित छ । नेपाली साहित्यका विभिध विधामा कलम चलाए पनि नियात्रा सिर्जनालाई उनले रुचिका रुपमा साधना गर्दै आएका छन् । नेपाली साहित्यिक गतिविधि र साहित्य क्षेत्रमाथि सरकारले चालेका विभिन्न नीतिगत कदमप्रति आफ्नो धारणा राख्दै आएका छन् । उनै सिलवाल नेपाली नियात्रा लेखन परम्परा र वर्तमान अवस्थाका बारेमा केन्द्रीत भई वेबटिभी खबरले गरेको कुराकानी: 

    साहित्य सिर्जना कस्तो चलिरहेको ? नियात्राकारलाई कोरोनाले कस्तो असर पार्याे ? 

    लेख्न त लेखिरहेकै छु । तर कोरोनाका कारण यो एकवर्षमा मजाले घुम्न पाइएको छैन । नियात्रा लेख्नुको पहिलो शर्त घुम्न निस्किनु नै हो । कोरोनाकालभरि कतै घुम्न निस्कन नपाएकाले नयाँ नियात्रा लेख्न सकिरहेको छैन ।  

    कोरोनाकाल अगाडि नै धेरै देश घुमिसक्नु भएको छ, फेरि कुनै नियात्रा संग्रह निकाल्ने तयारीमा हुनुहुन्छ कि ?

    मेरो ‘ग्रिनविचको साँझ’ नामक नियात्रा संग्रह प्रकाशित छ । यसमा बेलायतको भ्रमणमा भोगेका कुरा समेटेको छु । युरोपका देशहरूलाई समेटर अर्को नियात्रा संग्रह तयार पार्दै छु । लकडाउनको पिरियडमा मैले यसलाई तयार गरेको हुँ । त्यो चाँडै नै प्रकाशित हुँदैछ । त्यसपछि नेपाल विभिन्न देशका अरू किताबको पनि तयारी गरिरहेको छु ।

    साहित्यका कथा, उपन्यास, कविताजस्ता विधामा जसरी नियात्रा लेखकका रूपमा नयाँ पुस्ता आउन नसकेको देखिन्छ । नियात्रा लेखनको स्कुलिङ नभएर यस्तो भयो कि विधागत जटिलताका कारण ?

    नयाँ पुस्ताको आकर्षण नभएको नै भन्न त मिल्दैन । अरू विधाभन्दा लेख्न यो विध अलिक जटिल नै छ । अरू विधाजस्तो स्वैरकल्पना नियात्रामा हुँदैन । त्यसैले पनि कमले लेखेका होलान् कि भन्न सकिन्छ । पाठ्यक्रममा कम समावेश भए पनि युवाहरूमा देश-विदेश घुम्ने परिपाटी विस्तारै वृद्धि हुँदैछ । आन्तरिक पर्यटनका रुपमा पोखरा, चितवन, मुस्ताङ घुम्ने गरिरहेका छन् । युवाहरू घुमेपछि लेख्ने क्रममा वृद्धि होला । पाठक र लेखकलाई तान्ने खालका नियात्रा पनि अहिले आएका छन् ।

    अरू विधाभन्दा नियात्रामा विधागत जटिलता र विधागत भिन्नता कस्तो हुन्छ ?

    यात्रा गरेर आएर पछि सम्झेर लेख्ने चाहिँ यात्रासंस्मरण भयो । नियात्राचाहिँ ठाउँमै पुगेर लेखिन्छ । निचोडमा भन्नुपर्दा दुईचारवर्ष घुम्ने र त्यसपछि लेख्ने यो संस्मरण भयो । तर मैले घुमेर ताजाताजै लेखे भने त्यो नियात्रा बन्छ । हाम्रोमा चाहिँ संस्मरण पनि नियात्राकै बिधामा हालेर मिसाइएको छ । त्यसलाई पाठकले अलिकति फरक ढंगबाट बुझ्न जरुरी छ । संस्मरणजस्तो ढिलो होइन, जुन ठाउँमा हामी पुगेका हुन्छौं, त्यही ठाउँबाट तुरुन्त तथ्यपरक सम्प्रेषण गरिएको चाहिँ नियात्रा हो ।

     

    साहित्य पढाउने शिक्षक, प्रध्यापकहरू र यसलाई प्रवद्र्धन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले नियात्राबारे कम चर्चा गरिदिएको जस्तो तपाईंलाई लाग्छ ?

    यस्तो त लाग्दैन । उहाँहरूले विधागत रुपमा बुझाउन नसकेको भन्दा पनि मानिसमा एउटा इन्ट्रेस्टचाहिँ आइरहेको छ । बुझाउनै नसकेको त होइन । यात्रा गर्ने मानिसको प्रवृत्ति त बढेको छ नि त । यात्रा गर्न मानिस उत्सुक हुनु पनि नियात्रा क्षेत्रका लागि सुखद कुरा हो ।

    भ्रमण गरिरहेको मानिसलाई नियात्रा लेख्नका लागि कुन चिजले उत्प्ररित गर्छ ?

    तीनवटै कुराले उत्प्रेरित गर्छ । हामी अफ्रिका गयौं भने त्यहाँको मानविय संवेदनाको कुरा लेख्न सक्छौं युरोप गयौं भने त्यहाँको विकासका कुराहरू लेख्नसक्छौं । त्यहाँ के भइरहेको छ त्यो लेख्नुपर्यो त्यहाँ नपुगेको मान्छेलाई पनि पुगौं, पुगौं लाग्ने हुनुपर्यो । एउटा लेखक युरोप पुग्छ भने त्यहाँको ऐतिहासिक, सांस्कृतिक, धार्मिक सबै कुराहरू समेटर लख्नेहँुदा नियात्राले भोगालिक परिवेश पनि समेट्छ । नियात्रामा यी सबै कुरा ल्याउनुको कारण पाठकले रुचाउन् भन्ने हो ।

    नेपाली नियात्रा लेखन परम्परालाई अध्ययन गर्दा, आउँदा दिनमा नेपाली नियात्रा विधालाई के-के पक्षमा परिमार्जन गर्नुपर्ने जरुरी देख्नुहुन्छ ?

    नियात्रामा नयाँपन भन्नेवित्तिकै विदेश र नेपालको तुलना पनि गरिन थालेको छ । ताना शर्माले ‘बेलायतमा बरालिँदा’ लेखेर नियात्राको जग बसाइदिनु भएको हो । त्यसको आधारलाई मानेर नियात्रा विधा पनि पढाइ हुन थालेको छ ।

    अर्को कुरा चाहिँ अहिलेको नियात्रालाई चाहिँ त्यहाँको तथ्य र इतिहासका कुराहरू उत्खनन् गर्ने, युरोप अमेरिकाजस्ता विकसित देशका तुलनामा नेपालको अवस्था के-कस्तो छ ?

    यसरी तुलना गर्दै लेख्ने ट्रेन आइरहेको छ । त्यसले नेताहरू यत्तिका वर्ष विदेश गएर पनि आफ्नो देशमा केही गरेनछन्, अब हामीले गर्नुपर्छ भन्ने बनाएको छ ।

    पछिल्लो समय कथा, उपन्यासमा उत्तरआधुनिक प्रवृत्ति देखा पर्याे, लेखकहरूले विनिर्माण साथै विभिन्न प्रयोग गरेर अन्य विधा लेखे नियात्रा पनि त्यसरी लेखियो कि लेखिएन ?

    नियात्रा लेख्दा नयाँ पक्षलाई समेट्नुपर्छ । मैले यो, यो ठाउँ घुमे मात्रै भन्नु पुरातन शैली भयो । मैले ‘ग्रिनविचको साँझ’ मा पनि लेखेको छु, बेलायतको थिम्स नदीको बारेमा लेख्दै हाम्रो बागमती नदीलाई पनि त्यस्तो बनाउन सकिन्छ । त्यहाँको शेक्सपियर घरमा हामी छिरेको २० पाउण्ड लिन्छ, त्यतिमा घरमात्र हेर्न पाइन्छ । त्यस्तै कुराहरू हाम्रोमा पनि गर्न सकिन्छ । यसरी नयाँ ढंगले नियात्रा लेख्न सकिन्छ । अफ्रिका जाँदा त्यहाँ भोकमारी देख्न सकिन्छ, त्यो किन भयो होला ? यसरी खुलाएर नियात्रा लेख्न सकिन्छ । म बसमा गएँ, जहाजमा गएँ ओर्लिएँ नियात्रामा यस्तो लेख्नु पुरानो शैली भयो । मानवीय संवेदनालाई छुनेगरी लेख्न जरुरी छ ।

    नियात्रालाई पाठ्यक्रममा समेट्ने र यो विधाको प्रवद्र्धनमा नेतृत्व तहबाट  के-कस्ता कदम चालिएका छन् ? 

    केही मात्रामा कदम चालेका छन् । प्रज्ञाप्रतिष्ठानले अनुसन्धानात्मक रुपमा गर्दैछ । यो केही नभएको होइन केही हदसम्म प्रयास भएको हो । तर विधागत रूपमा अरु बिधाभन्दा नियात्रा कोर्सका किताबमा कम मात्रा समेटिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology