Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपालमा आधा जनसंख्याले खोप नलगाउँदै ओमिक्रोनको जोखिम

नेपालमा आधा जनसंख्याले खोप नलगाउँदै ओमिक्रोनको जोखिम

  • 657
    SHARES
  • नेपालमा आधा जनसंख्याले खोप नलगाउँदै ओमिक्रोनको जोखिम

    काठमाडौं । नेपालमा हालसम्म ८६ लाख ९७ हजारले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको एक मात्रा लगाउनेको संख्या १ करोड ३ लाख ५२ हजार ८ सय ४५ छ । नेपालमा अझै आधाभन्दा बढी जनसंख्याले पहिलो मात्रा लगाउन पाएका छैनन्। 

    यही अवस्थामा अर्को संकट थपिएको छ। त्यो संकट हो–ओमिक्रोन भेरियन्ट। जुन निकै संक्रामक मानिएको छ। ओमिक्रोन दक्षिण अफ्रिका लगायतका ३९ देशमा फैलिइसकेको छ। छिमेकी मुलुक भारतमा मात्रै पाँच जनामा ओमिक्रोन भेरियन्ट देखिइसकेको छ। 

    दक्षिण अफ्रिकामा २४ नोभेम्बरमा पहिलो पटक पहिचान यो भेरियन्ट  नेदरल्याण्डमा १९ देखि २३ नोभेम्बरमा लिएका २ वटा नमुना परीक्षणमा पुष्टि भएको पाइएको छ। त्यसैले ओमिक्रोन कहाँ र कहिले उत्पत्ति भनेर यकिन भइसकेको छैन। 

    नयाँ भेरियन्टको पुष्टिसँगै केही देशले आफ्ना नागरिकलाई खोपको ‘बुस्टर डोज’ दिन थालेको छ । विश्वका ४० भन्दा बढी देशले बुस्टर डोज खोप दिइरहेका छन् । ती देशले कोरोनाविरुद्धको पूर्ण डोज लगाएकामध्ये जोखिमपूर्ण र अग्रपंक्तिमा खटिने समुहलाई बुस्टर डोज खोप दिन थालेका हुन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रिया, क्यानडा, टर्की, चीनलगायतका देशहरुले आफ्ना नागरिकलाई बुस्टर डोज खोप दिइरहेका छन् ।

    जोखिम भएकालाई बुस्टर डोज आवश्यक 

    ओमिक्रोन भाइरस देखिएसँगै विकसित देशले बुस्टर डोज अभियान सञ्चालन गरे पनि गरिब राष्ट्रमा तत्काल अम्भव देखिन्छ । नागरिकले खोपको एक मात्रा वा पूर्ण मात्रा नै नपाएका बेला बुस्टर डोज तत्काल सम्भव छैन् । 

    ‘सक्षम देशहरुले बुस्टर डोज आफ्नो तरिकाले लगाइरहेका छन् । अमेरिका आफै सक्षम छ खोप किन्न र बनाउन पनि’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादर पुन भन्छन्, ‘हाम्रोमा खोप किनेर ल्याउनुपर्छ । कतिपय सहयोग स्वरुप पनि आएको छ । पूर्ण मात्रामा खोप लगाएका व्यक्तिमा जटिलता आउने सम्भावना कम छ । तर जोखिम समूहलाई समस्या हुनसक्छ ।’ 

    भाइरसविरुद्धको पूर्ण डोज लगाएका व्यक्तिको उमेर, जोखिमपूर्ण अवस्था हेरेर प्राथमिकताका आधारमा बुस्टर डोज लगाउनु पर्ने उनी बताउँछन् । कोरोनाविरुद्धको खोप लगाए पनि समयक्रममा एन्टीबडी घट्दै जाने भएकाले पनि बुस्टर डोज लगाउनु पर्छ । 

    नेपालमा पहिलो र दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले बुस्टर डोजको विषयमा कुनै योजना नबनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘लक्षित जनसंख्या खोप लगाउँनै बाँकी रहेकाले तत्काल बुस्टर डोजबारे कुनै योजना बनेको छैन’, मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, ‘हालसम्म खोप लगाउन बाँकी रहेकालाई नै अहिलेसम्म खोप दिइरहेका छौं । आवश्यकता र खोपको उपलब्धताको आधारमा बुस्टर डोजबारे विस्तारै सम्बन्धीत निकायसँग समन्वय गरि निर्णय गर्नेछौं ।’ 
    उनले बुस्टर डोजबारे विशेषज्ञहरुसँग चाँडै छलफल गरि निर्णय गरिने जानकारी दिए ।

    हालसम्म नेपालमा कति खोप आयो ?

    नेपालमा हालसम्म २ करोड ७१ लाख ६८ हजार डोज खोप आएको छ । नेपालले जम्मा ६ करोड २८ लाख डोज खोप ल्याउने लक्ष्य लिएको छ । जसमध्ये आगामी चैतसम्म ३ करोड ५६ लाख डोज खोप आउनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij