रेश्मा सिंह
काठमाडौं । पछिल्लो समय हृदयघातको कारणले कम उमेरमै चर्चित व्यक्तिहरुको निधनका खबरहरु सार्वजनिक भए । चर्चित व्यक्तिको निधन हुँदा त्यसको कारण थाहा हुने गरे पनि सर्वसधारणकाे निधनका कारणहरू खुल्दैनन् ।
सर्वसाधारणको असमय निधन हुँदा त्यसको कारण थाहा हुँदैन । प्रायः ४५ वर्ष कटेकालाई हुन्छ भन्ने गरिएको हृदयघात वर्तमान अवस्थामा ४० वर्ष आसपासका युवाहरुमा पनि देखिन थालेको छ । हालसालै केही चर्चित व्यक्तिकाे कम उमेरमै हृदयघातबाट निधन भयाे । त्यसले धेरैलाई झस्कायाे ।
घटना–१
भारतीय कलाकार तथा बिग बोस १३औँ संस्करणका बिजेता ४० वर्षीय सिद्धार्थ शुक्लाको १७ भदौ बिहान निधन भयो । अस्पतालले उनको हृदयघातका कारण निधन भएको जानकारी दियो ।
घटना–२
१२ कार्तिकमा दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भयो । बिहान वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनको निधन भयो ।
घटना–३
भारतका अर्का अभिनेता ३६ वर्षीय ब्रम्हास्वरुप मिश्रा २ डिसेम्बरमा मुम्बईस्थित आफ्नो निवासमा मृत फेला परे । भारतीय सञ्चारमाध्यमका अनुसार मिश्राले मृत्युको दुई दिनअगाडि छाती दुखेको र ग्याष्ट्रिक निको पार्ने औषधि खाएका थिए ।
युवाअवस्थामा हृदयघात
बितेका ५० वर्ष यतादेखि मानिसहरुको जीवनशैलीमा धेरै नै परिवर्तन भयो । जसकारण युवाअवस्थामा नै हृदयघातको जोखिम बढेको विज्ञहरुको ठहर छ ।
शारीरिक व्यायामको कमी, फास्ट फूड बढी खाने, तनावयुक्त कार्यशैली, सूर्तिजन्य पदार्थको सेवन, मद्यपान गर्ने चलन बढेसँगै हृदयघातको जोखिम बढेको मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन् ।
‘हृदयघात गराउन सबैभन्दा बढी भूमिका धुम्रपान खेलेको हुन्छ’, डा. अधिकारी भन्छन्, ‘सुर्तिजन्य पदार्थको जोखिमबारे किशोर अवस्थामा जागरुक गराउन जरुरी छ ।’ सूर्तिजन्य पदार्थको सेवनलाई बेलैमा नियन्त्रण गर्न सके भविष्यमा हुनसक्ने हृदयघातको जोखिमलाई निकै कम गर्न सकिने उनी बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा १ करोड ८० लाख मानिसहरुले मुटुसम्बन्धी समस्याका कारण ज्यान गुमाउने गरेका छन् । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशतलाई हृदयघात हुने गरेको छ । विश्वमा नसर्ने रोगबाट हुने मृत्युमध्ये ३२ प्रतिशत मुटुरोगबाट हुन्छ ।
नेपालमा पनि मुटुरोगका बिरामीको संख्या वृद्धि भइरहेको छ । पछिल्लो १० वर्षयता नेपालमा मुटुरोगीहरूको संख्या पाँच गुणाले वृद्धि भएको मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।
‘पहिले ४० वर्ष मुनिकालाई हृदयघात हुँदैन भन्ने थियो तर अहिले ४० वर्षभन्दा कम उमेरका मानिसमा पनि हृदयघात भएको छ,’ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘नेपालमा प्रत्येक वर्ष करिब १५ हजार जना हृदयघातका नयाँ बिरामी थपिने गरेका छन् । यसको मुख्य कारण हाम्रो जीवनशैली र सानै उमेरदेखि सूर्तिजन्य पदार्थको सेवन हो ।’ समयमै जीवनशैलीलाई परिवर्तन गरे हृदयघातको जोखिमबाट बच्न सकिने डा. अधिकारी बताउँछन् ।
के हो हृदयघात ?
मुटुले पूरै शरीरमा रक्तसञ्चार गर्ने काम गर्छ । मुटुलाई खुम्चिन र अनवरत रुपमा चलिरहनको लागि तीनवटा स–सानो नशाहरुबाट रगत प्रवाह भइरहेको हुन्छ ।
जसबाट मुटुले अक्सिजन, पौष्टिक तत्वहरु पाइरहेको हुन्छ । ति तीनवटा नशाहरुमध्ये कुनै एकमा अवरोध उत्पन्न भएपछि मुटुमा रगत, अक्सिजन, पौष्टिकतत्वहरु जान पाउँदैन । जसपश्चात मांशपेशी मर्छ । जसलाई हृदयघात भनिन्छ ।
‘हृदयघातमा मुख्यतया मुटुको मांशपेशीमा रगत प्रवाह गर्ने रगतको नशाहरुमा चिल्लोयुक्त बोसो वा कोलेस्ट्रोल जम्मा भएर साघुँरो हुँदै जान्छ’, मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्मा भन्छन्, ‘हाम्रो जीवनशैली, खानपान, वशांणुगत कारणले साँघुरो हुँदै गएका रगतका नशाहरु बन्द हुन्छन् । परिणामस्वरुप हृदयघात हुन्छ ।’
कारणहरु
४५ वर्ष कटेका व्यक्तिहरुमा हृदयघातको जोखिम बढी हुन्छ । यसैगरी महिलाको तुलनामा पुरुषमा हृदयघातको जोखिम बढी हुने गरेको डा. शर्माले बताए । उनकाअनुसार मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, धुम्रपान तथा मद्यपान गर्ने व्यक्ति, बोसो तथा चिल्लोयुक्त खानेकुरा धेरै खाने, मोटोपन, मानसिक तनाव धेरै भएको र वंशाणुगत कारणले मानिसहरुमा हृदयघात जोखिम हुन्छ ।
लक्षण
डा. शर्माकाअनुसार ह्दयघात हुनुअघि देखिने लक्षणमा छाती देब्रे भागमापट्टि एकदमै गर्हुङ्गो महशुस हुने, गाह्रो हुनेगरी थिचेको जस्तो भारीपन हुने, पेटको माथिल्लो भागमा ग्याष्ट्रिक जस्तो हुने, श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । यसकासाथै कहिलेकाँही देव्रे हातमा वा च्यापूतिर पनि दुखाई सरेको जस्तो पनि हुनसक्ने उनको भनाई छ ।
‘धेरै मान्छेहरु मुटुमा सियोले घोचेजस्तो भयो, दुख्यो, मलाई हृदयघात भयो भनेर आउनु हुन्छ’, डा. शर्माले भने, ‘त्यो मुटुको दुखाइ होइन ।’ हृदयघातको लक्षण सियोले घोचेजस्ता नहुने उनले बताए ।
उपचार
ह्दयघातको लक्षण देखिएमा तुरून्त मुटुरोग विशेषज्ञको परामर्श लिन विशेषज्ञ सुझाउँछन् ।
‘हृदयघात हो कि भन्ने शंका लागेपछि हृदयघातसम्बन्धी उपचार हुने अस्पताल जानुपर्छ’, डा. दिवाकर शर्मा बताउँछन्, ‘लक्षण देखिएपनि सामान्य सोचेर घरमै बसिरहँदा हृदयघात पनि हुनसक्छ । हृदयघात भइसकेपछि उपचार सहज हुँदैन । यसको उपचार पनि निकै खर्चिलो छ । देव्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ ।’
हृदयघात विश्वमै चिन्ताको विषय बनेको छ । जीवनशैली व्यवस्थापन, खानपानमा ध्यान दिने, शारीरिक व्यायाम गर्ने, तनाव नलिने, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भए नियन्त्रणमा राख्ने गर्दा हृदयघातको जोखिमबाट बच्न सकिने चिकित्सकले सुझाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij