वेबटिभी खबर
काठमाडौं । एमाले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा नेता भीम रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए ।
थप जिम्मेवारीका लागि अध्यक्ष ओली र रावलको परामर्शबमोजिम हुने पोखरेलको भनाइ थियो ।
एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij