नयाँ दिल्ली । भारतमा आक्रोशित बाँदरहरूले दर्जनौं कुकुर मारिदिएका छन् । भवनको छत तथा रुखका टुप्पामा लगेर बाँदरहरूले कुकुरको हत्या गरिदिएका हुन् । महाराष्ट्रको विड जिल्लामा ककुरहरूको एउटा समूहले बाँदरको एउटा बच्चा मारिदिएपछि त्यसको बदलामा बाँदर उत्रिएको हो ।
जिल्लाको मजलगाओन र लभुल गाउँमा बाँदरहरूको एउटा हुलले कुकुर मारिदिएको थियो । बाँदरले वरपर भएका कुकुरलाई टोकेर घरको छत तथा रुखको टुप्पोबाट खसालेका थिए । आक्रोशित बाँदरहरूले विद्यालयका बालबालिकालाई पनि खेदेका थिए ।
कुकुर देख्नेवित्तिकै बाँदरले अग्लो रुखको टुप्पो वा भवनको छतमा लगेर खसालिदिएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार बाँदरले पछिल्लो एक महिनामा मात्र २५० कुकुरलाई अग्लो ठाँउबाट खसालेका छन् । आक्रमणबारे सार्वजनिक भएको एउटा भिडियोमा बाँदरले निर्दयी ढंगले एउटा कुकुरको बच्चालाई टोकेर घरको छतमा पुर्याएर त्यहाँबाट खसालेको देख्न सकिन्छ ।
बाँदरलाई नियन्त्रणमा लिन स्थानीयले वन विभागका अधिकारी गुहारेका थिए । तर, विभागबाट खटिएका कर्मचारीले बाँदर नियन्त्रण गर्न नसकी फर्किएका थिए । स्थानीयका अनुसार बाँदरहरूले कुकुरमाथि अझै बदला लिइरहेका छन् ।
केही कुकुरहरूले बाँदरको एउटा बच्चा मारिदिएपछि बाँदर योजनाबद्ध ढंगले प्रतिकारमा उत्रिएका हुन् । विभागका कर्मचारीहरूले बाँदरलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीयले नै कुकर जोगाउन थालेका छन् । बाँदर देख्ने वित्तिकै उनीहरूले भगाउनेदेखि कुकुरलाई सुरक्षित क्षेत्रमा पठाउन थालेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology