वेबटिभी खबर
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औं हप्तामा प्रवेश गर्दैछ ।
महाअभियानले ४५०औं हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर भइरहेको छ । महाअभियान सुरु भएपछि बाग्मतीका विभिन्न खण्डका साथै रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, लतिलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ अभियान चलिरहेको छ ।
बाग्मती सफाइ महाअभियानको प्रेरणाले यी सफाइ अभियान सुरु भएका हुन् । हाल काठमाडौं उपत्यकाका २५ स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।
काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी एवं सांस्कृतिक सम्पदास्थलमा पनि बाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सफाइ भइरहेको छ । नागरिकस्तरबाट सुरु भएको यो अभियानलाई स्थानीय सरकारले भने महत्त्व नदिएको भन्दै अभियानकर्मीले आलोचना गर्ने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij