Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बढी भोट दिएर देखाउनु भएको विश्वासले मलाई थप जिम्मेवार बनाएको छ : डा.डिला संग्रौला [अन्तर्वार्ता]

बढी भोट दिएर देखाउनु भएको विश्वासले मलाई थप जिम्मेवार बनाएको छ : डा.डिला संग्रौला [अन्तर्वार्ता]

  • 1.4K
    SHARES
  • बढी भोट दिएर देखाउनु भएको विश्वासले मलाई थप जिम्मेवार बनाएको छ : डा.डिला संग्रौला [अन्तर्वार्ता]

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खुला महिलातर्फ डा.डिला संग्रौला पन्तले केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत ल्याएर जित हासिल गरिन् । उनीसँगै उक्त पदमा पार्टी सभापति पत्नी आरजु राणा देउवासहित दिग्गज महिलाहरू उम्मेदवार बनेका थिए । महाधिवेशन प्रतिनिधिहरूको अपार समर्थन पाएकी डा.संग्रौलासँग बढी मत पाएर जित हासिल गरेपछि थपिएको जिम्मेवारी, महिलाको हितमा ल्याउने आगामी कार्यक्रमलगायतका विषयमा गरिएको संक्षिप्त कुराकानी :  

    images

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभयो । कस्तो लागेको छ ?

    म १३औं महाधिवेशनमा पनि सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिएँ । मैले १४औं मआधिवेशनबाट नयाँ भूमिका जान्छु भन्न सोच बनाएको थिएँ । तर, फेरि केन्द्रीय सदस्यमै उठें । यो पटक पनि सबैभन्दा धेरै मत पाएर विजयी हुँदा मैले थप जिम्मेवारी बढेको महसुस गरेको छु ।

    महाधिवेशन प्रतिनिधिहरूले विश्वास गरेर तपाईंलाई धेरै मत दिनुको कारण के ठान्नु हुन्छ ?

    हरेक मतदातामा मूल्यांकन गर्ने क्षमता हुन्छ । उम्मेदवारलाई मूल्यांकन गरेर महाधिवेशन प्रतिनिधिहरूले देखाउनु भएको माया, सद्भाव र विश्वासका कारण नै मैले बढी भोट पाएको ठानेकी छु । मैले पार्टीका लागि मेचीदेखि महाकालीसम्म गरेको यात्रा, दौडधुप उहाँहरूले देख्नु भएको छ । मैले यसअघि पार्टीको जुन-जुन जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरें । त्यसको प्रतिफलको रूपमा मेरो विजयलाई ठानेको छु । सडकदेखि सदनसम्म जनताका पीरमर्का र राष्ट्रियताको विषयमा उठाएको आवाज र प्रतिवद्धताले मलाई विश्वास गरेर भोट दिनु भएको हो । म उहाँहरू सबैको दुःख र सुखको साथी बनेर काम गर्छु ।

    महाधिवेशन प्रतिनिधिको विश्वासलाई तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ ?

    मप्रति धेरै आशा राख्नुभएको छ । कांग्रेसलाई नयाँ ढंगले नयाँ उचाइमा अगाडि बढाउनुपर्ने सोच सबैको छ । उहाँहरूले दिनुभएको अमूल्य सुझाव, सल्लाहलाई आत्मसात गर्दै आगामी दिनमा अगाडि बढ्छु । ममाथि गरिएको विश्वासमा खरो उत्रन मैले पहिलाभन्दा बढी सक्रिय हुनुपर्छ । 

    तपाईं सहमहामन्त्रीको आकांक्षी हुनुहुन्थ्यो । तर, केन्द्रीय सदस्यमा खुम्चिए पनि लोकप्रिय मत पाउनु भयो । पार्टीमा कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ । तपाईंको सम्भावना कत्तिको छ ?

    मनोनितको विषय नेताहरूले मूल्यांकन गर्ने कुरा हो । साथीभाइले अपार मत दिएर विश्वास प्रकट गर्नुभएको छ । पार्टीको जुनसुकै जिम्मेवारीमा आउँदा पनि मलाई माया गर्नुभएको छ । मैले लोकप्रिय मत ल्याएँ । त्यसैका आधारमा पार्टी सभापतिले मलाई त्यो पदमा लैजान योग्य ठान्नुहुन्छ कि ठान्नुहुँदैन त्यो उहाँको अधिकार हो ।

    केन्द्रीय समितिमा युवाको उपस्थिति बढेको छ । पार्टीलाई प्रभावकारी र जनस्तरसम्म पुर्‍याउन अब तपाईंहरूको भूमिका के रहन्छ ? 

    हामीले कांग्रेसमा युवा भएनन् भनेर आवाज उठाउँदै आएका थियौं । रूपान्तरणका कुरा पनि उठायौं । पार्टीभित्र मियो बनेर गगन थापा, विश्वप्रकाश शर्मा महामन्त्रीमा आइसक्नु भएको छ । त्यसकारण पार्टीभित्र रूपान्तरणको प्रक्रिया सुरु भइसक्यो । नवीन विचार, जोशजाँगरका साथ संगठन सुदृढीकरणमा जनताको दैलोमा जानुपर्‍याे । गत निर्वाचनमा हामी दोस्रोमा झर्‍याैं । केही विश्वास गुमायौं । आज संयोगले मात्रै सत्ताको नेतृत्व गरिरहेका छौं । तीन तहको निर्वाचन आउन लागेकाले केन्द्रीय समितिमा पुगेको युवा पुस्ताले जनताको विश्वास, आशा र भरोसा जोगाउनु छ ।

    आसन्न तीनै तहको चुनावमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ ?

    सबै कांग्रेसीको ध्यान चुनावामा केन्द्रित भइसकेको छ । तीनै तहको चुनावमा कांग्रेसले जित्न पनि जरूरी छ । अब हामीले पार्टीभित्रको तित्तता, प्रतिस्पर्धालाई हटाउँदै पार्टीलाई जनताको मत जित्ने अभियानमा केन्द्रित हुनुपर्छ । यसरी हामी तीनै तहको चुनावमा जित हासिल गरेर ठूलो दल हुन्छौं ।

    कांग्रेसको १४औं महाधिवेशनले के सन्देश दियो ?

    राजनीतिमा आशा भएन भने अगाडि जान सकिदैन । महाधिवेशनबाट युवाहरू पदाधिकारीमा पुग्नु भएको छ । नयाँ अनुहारहरू उलेख्य आउनुभएको छ । नयाँ जिम्मेवारीसहित समावेशी, युवा नेतृत्व आएको छ । समावेशी लोकतन्त्रको हामी अभ्यास गर्दैछौं । पार्टीभित्र रूपान्तरण र परिवर्तन हुन्छ । कांग्रेस नयाँ ढंगले अगाडि बढ्छ भन्ने आशा छ । सबैजना आशावादी भएर फर्किनु भएको छ । देशको आमूल र सकारात्मक रूपान्तरण कांग्रेसबाट मात्र सम्भव छ भन्ने सन्देश यो महाधिवेशनले दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology