वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका करिब एकसय राष्ट्रमा पुगेको छ । हाल संक्रमण उच्च भएका ठाउँमा यसअघिकै डेल्टा र साथमा ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएको छ ।
ओमिक्रोन भेरियन्टको चर्चा चलिरहेको बेला डेल्मिक्रोनको पनि चर्चा सुनिन थालेको छ । डेल्टा र ओमिक्रोन एकसाथ फैलिएका ठाउँमा डेल्मिक्रोन भेरियन्टसमेत देखिएको विज्ञहरुले बताएका छन् ।
अमेरिकालगायत युरोपियन मुलुकमा कोरोना संक्रमण तीब्र गतिमा बढ्नुको कारण डेल्मिक्रोन जिम्मेवार रहेको आशंका विज्ञहरुको छ ।
के हो डेल्मीक्रोन ?
डेल्टा र ओमिक्रोन भेरियन्ट एकै व्यक्तिमा संक्रमण भएर दुवैको स्पाइक प्रोटिन मिलेर अर्को सुपर भेरियन्ट बन्नेबारे विज्ञहरुले यसअघि नै चर्चा गरेका थिए । यस भेरियन्टलाई मिलाएर डेल्मिक्रोन नाम दिइएको हो ।
रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा दुवै भेरियन्ट एकसाथ प्रवेश गर्न सक्ने चिकित्सकहरुले बताएका छन् । उक्त व्यक्तिको शरीरमा दुवै भेरियन्ट मिलेर अर्को सुपर भेरियन्ट बन्ने विज्ञहरु बताउँछन् ।
यी दुवै भेरियन्टलाई विज्ञहरु जुम्ल्याहा भाइरस मान्छन् । जब दुवैको स्पाइक प्रोटिनको मिश्रण हुन्छ, यसबाट नयाँ भेरियन्टको जन्म हुने र त्यो जोखिमपूर्ण पनि हुनसक्ने आँकलन वैज्ञानिकहरुको छ ।
स्पाइक प्रोटिनको माध्यमबाट नै कोरोना भाइरस मानव शरीरको कोशिकामा प्रवेश गर्छ । अमेरिका र यूरोपमा लगातार बढिरहेका कोरोना केसले पनि डेल्मिक्रोन भेरियन्टले आगामी दिनमा जोखिम निम्त्याउने संकेत गर्छ ।
कस्ता व्यक्तिहरुलाई डेल्मिक्रोन भेरियन्टको जोखिम ?
विशेषज्ञकाअनुसार डेल्मिक्रोनको सबैभन्दा बढी जोखिम कमजोर रोग प्रतिरोध क्षमता भएका, वृद्धवृद्धा, एक वा एकभन्दा बढी दीर्घ रोग भएका व्यक्तिहरुमा रहेको छ ।
यसैगरि, हालसम्म कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई पनि डेल्मिक्रोनको जोखिम रहेको छ । कोरोनाविरुद्धको कुनै पनि खोप नलगाएको समुदाय वा व्यक्तिमा डेल्मिक्रोनको संक्रमण हुनसक्ने विशेषज्ञको भनाइ छ । भाष्कर टाइम्सबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij