वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका पुरानो नेता एवम् पूर्वसांसद् सुभाष कर्मचार्यले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । आइतबार कर्मचार्यले सामाजिक सञ्जालमार्फत् पार्टी परित्याग गरेको जनाएका हुन् ।
‘नेपाल कम्युनिस्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले एमाले परित्याग गरेको घोषणा गरेपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । उनको यो कार्यबारे सामाजिक सञ्जालाम मिश्रित प्रतिक्रिया आएका छन् । ‘आजैको दिनदेखि सिन्धुपाल्चोक नेकपा एमालेले ठूलो मुक्ति पाएको घोषणा गर्दछु,’ विष्णु थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमालेको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वार हुने तयारी गरेपनि टिममा नपरेपछि उनी केन्द्रीय सदस्य हुनबाट वञ्चित भए । पछि मनोनित केन्द्रीय सदस्य बन्ने चाहनासमेत पुरा हुन नसकेपछि उनी पुनः नेकपा एसका अध्यक्ष माधव नेपालतिर नजिकिएका थिए ।
कर्माचार्यले एमाले छाडेपछि धेरै जिल्लास्तरीय नेताहरूले उनलाई साथ दिने आकलन गरिएको छ । एमाले सिन्धुपाल्चोकले यही पुस २३ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिरहँदा उनको बहिर्गमनले पार्टीमा ठुलो धक्का लाग्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij