काठमाडौं । काठमाडौं उपत्यकाको आकाश धुम्मिएको एक साता बित्न लाग्दा बिहीबार बिहान भने आकाश केही सफा देखिएको छ । बुधबार राति उपत्यकामा हल्का वर्ष भएसँगै बिहीबार बिहान आकाश केही सफा देखिएको मौसमविद्हरूले बताएका छन् ।
बिहीबार दिउँसो उपत्यकासहित बागमती प्रदेशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अपराह्नपछि बागमती प्रदेशसहित गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भागमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबारदेखि पुनः पानी पर्ने प्रणाली कमजोर हुने पूर्वानुमान गरिएको छ । उपत्यकाक्षेत्रको वायुमण्डलमा प्रदूषण थुप्रिएकाले ठूलो झरी नपरेसम्म मौसम पूर्ण रूपमा नखुल्ने मौसमविद् वरुण पौडेलले बताए ।
बुधबार बेलुका काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको थियो । त्यो पानीले वायुप्रदूषण केही हदसम्म कम गर्न सघाए पनि पूर्णरूपमा मौसम सफा भने अझै नभएको मौसमविद्हरुले बताएका छन् ।
उपत्यकामा घाम लाग्न थाले पनि तराई क्षेधका जिल्लामा भने अझै पनि तुवाँलो हटेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij