Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

विदेशकाे दुःख सम्झिंदै स्वदेशमा आलुखेती

विदेशकाे दुःख सम्झिंदै स्वदेशमा आलुखेती

  • 185
    SHARES
  • विदेशकाे दुःख सम्झिंदै स्वदेशमा आलुखेती

    डडेल्धुरा । गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ  । किन विदेश जाँदै हुनुहुन्छ ? भन्दा प्रायः सबैको एउटै उत्तर हुन्छ- देशमा रोजगारीको अवसर नहुनु ।’ तर, यही महोलमा आफ्नै गाउँठाउँमा धेरै कुरा गर्न सकिन्छ भन्दै युवाहरूका लागि उदाहरणीय पात्र बनेका छन्, डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बेडपानीका ताराप्रसाद भट्ट ।

    भट्ट पनि रोजगारीको लागि कतार पुगेका थिए । १० वर्ष कतारमा १८ घण्टा काम गरेका उनले १२ घण्टा काम गरेको मात्र पारिश्रमिक पाएको बताउँछन् । रातदिन पसिना बगाउँदासमेत उचित पारिश्रमिक नपाएपछि उनले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने योजना बुने र स्वदेश फर्किए । सोही समयमा उनको योजनामा साथ दिन पुगे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाई आलु सुपरजोन डडेल्धुराका प्रमुख खेमराज जोशी । 

    आलु सुपरजोनले जिल्लामा आलुखेतीको विस्तार गर्न कृषकलाई सघाउ पुर्‍याइरहेको थियो । डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बेडपानीमा आलु उत्पादन गर्न उपयुक्त वातावरण रहेको कुरा थाहा पाएसँगै भट्टले पनि आलुखेती सुरु गरे । ‘७५ जनाको समूह बनाएर आलुखेती गरेँ । समूहको नाम मणिलेक ताजा तरकारी उत्पादन समूह राखेँ । र, म अध्यक्ष बनेँ,’ भट्टले भने, अहिले आलुखेतीबाट मनग्य आमदानी गरिरहेको छु । आर्थिक, प्राविधिक, यन्त्र उपकरणमा आलु सुपरजोनले सहयोग गरिरहेको छ ।’

    दुई वर्षअघिसम्म परम्परागत खेती प्रणाली गर्ने गरेको भए पनि त्यसले साँझ बिहान खान नपुग्ने गरेको भट्टको भनाइ छ । तर,आलुखेती गरेपछि मनग्य आमदानी हुने गरेको उनी बताउँछन् । उनका अनुसार कृषकले आलुको बिउमा सुपरजोनको ५० प्रतिशत स्थानीय सरकारको २५ प्रतिशत सहयोग पाएका छन् । ‘कतारमा १८ घण्टा काम गरेर १२ घण्टाको मात्र पारिश्रमिक पाइन्थ्यो । तर, यहाँ ६ घण्टा काम गरेर १२ घण्टा काम गरे बराबरको पारिश्रमिक पाइरहेको छु’, उनले भने । 

    भट्ट त डडेल्धुराका एक उदाहरण मात्रै हुन् । उनी जस्तै नवदुर्गा गाउँपालिकाका अन्य कृषकले पनि कृषि समूह बनाएर गहुँ, जहुँ र तोरी लगाउने खेतमा आलुखेती गरिरहेका छन् । आलुखेतीले विगतमा गरेको खेतीभन्दा बढी आमदानी दिन थालेपछि आलुखेती सुरु गरेको स्थानीय देवादेवी लुहारले बताइन् । छैन स्थानीय सरकारको सहयोग दुई नगरपालिका र पाँच गाउँपालिका गरि सातवटा स्थानीय तह रहेको डडेल्धुराकाका सातवटै स्थानीय तह आलु सुपरजोन क्षेत्र घोषणा भइसकेका छन् ।

    कृषकले आलु सुपरजोनको ५० प्रतिशत स्थानीय तहको २५ प्रतिशत सहयोग पाएको कारण पनि परम्परागत खेती प्रणाली त्याग्दै आलुखेतीमा जोड दिएका छन् । तर,कृषकले आलुको बिउमा २५ प्रतिशत सहयोगबाहेक अन्य सहयोग नपाएको गुनासो गरेका छन् । स्थानीय तहले वडावडामा कृषि प्राविधिक राखे पनि कृषकलाई परामर्श नदिने गरेको कारण रोग किराबाट आलु जोगाउन समस्या हुने गरेको कृषक हरूदेवी साउदले बताइन् । गत असोजको अन्तिम सातातिर परेको अविरल वर्षाले लगाएको आलु पूरै कुहिँदासमेत नवदुर्गा गाउँपालिकाले सहयोग नगरेको उनको भनाइ छ । 

    चार वर्षमै सात सय हेक्टरमा फैलियो आलुखेती

    १२१ हेक्टर क्षेत्रफलमा लगाइने आलुखेती चार वर्षमै ७०० हेक्टर क्षेत्रफलमा फैलिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई आलु सुपरजोन डडेल्धुराले जनाएको छ । आलुको क्षेत्रफल बढेसँगै उत्पादनमा समेत बृद्धि भएको हो । कार्यालय स्थापना भएको चार/पाँच वर्षमा परियोजनाले किसानलाई आर्थिक, प्राविधिक, यन्त्र उपकरणमा गरेको सहयोगले क्षेत्रफल विस्तार भएको परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशी बताउँछन् ।

    डडेल्धुरामा परियोजना सञ्चालन पूर्व एक सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती गरिदै आएको तथ्यांक थियो । परियोजना, कृषि ज्ञान केन्द्र, स्थानीय सरकार र कृषकसँगको साझेदारीमा आलुखेतीको क्षेत्रफल विस्तार भएको जोशीले बताए । ‘चक्लाबन्दीमा आलुखेतीको विस्तार हुदै गएको छ । परियोजनाले सिँचाई, यन्त्र उपकरण, बिउ मलखादमा किसानलाई अनुदान दिँदै आएको छ । हिउँदे र बर्खे गरी दुई सिजनमा यहाँका सातवटै स्थानीय तहमा आलुखेती हुँदै आएको छ,’ उनले भने । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology