Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लकडाउनले जुराएको व्यावसायिक कालिजपालन 

लकडाउनले जुराएको व्यावसायिक कालिजपालन 

  • 737
    SHARES
  • लकडाउनले जुराएको व्यावसायिक कालिजपालन 

    तनहुँ । लकडाउनको समस्यामा परेका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रूपमा कालिज पाल्न थालेका छन् । बन्दिपुर गाउँपालिका-४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गरेका हुन् । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थालेका हुन् ।

    काठमाडौंमा बेकरी पसल सञ्चालन गरेका श्रेष्ठले कोरोनाको संक्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरूआत गरे । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरूआत गरेका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थालेका छन् ।

    ‘साना चल्ला हुँदा जोगाउन कठिनाई भयो । केही चल्ला मरे,’ उनले सुनाए, ‘केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन् ।’ भाले बिक्री गरिए पनि पोथी अण्डाको लागि राख्ने गरिएको छ । अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला  ४०० देखि ५०० सम्म बिक्री हुन्छ । कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताए ।

    बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब डेढ करोड लगानी भएको श्रेष्ठ बताउाछन् । करिब डेढ किलोको कालिज प्रति गोटा तीन हजारमा बिक्री गर्ने गरिएको छ । ‘कसैले भालेपोथी लैजाने चाहेमा रू सात हजारमा बिक्री गर्ने गरिएको छ,’ उनले भने । पालेको ६ महिनामा कालिज खान योग्य हुन्छ । फार्ममै कालिजको मासु, परिकार, खाना र खाजाकोसमेत व्यवस्था मिलाइएको छ ।

    कालिज स्थानीयस्तरमै खपत हुने गरेकोले बिक्रीको कुनै समस्या नभएको श्रेष्ठ बताउँछन् । जिल्लाको आँबुखैरेनी, डुम्रे, बन्दिपुर र छिमेकी जिल्ला गोरखामा बिक्री हुर्दै आएको उनले बताए । कालिज फार्म सुरू गरेदेखि घरका बुबाआमा, श्रीमती र आफू गरी सबै जनाले रोजगारी पाएको उनी बताउँछन् ।

    लकडाउनका कारण जीवन धान्न धौधौ भएपछि गाउँ फर्किएको बताउँदै श्रेष्ठले गाउँमा बाँझो रहेको जमिनमा केही गरौं भन्ने सोचका साथ कालिजपालनमा लागेको जानकारी दिए । सुरूको दुई महिनाजति खोरमा राखेर पाल्ने र त्यसपछि खुला चौरमा छाडेर पाल्ने गरिएको छ । कालिजको मासु वृद्वबवद्वा, बालबालिका, गर्भवती, सुत्केरीलगायत जुनसुकै बिरामीले पनि खानयोग्य मानिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij