Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रयत्नको विस्तार

प्रयत्नको विस्तार

  • 891
    SHARES
  • प्रयत्नको विस्तार

    प्लस टु अध्ययनरत एक छात्रालाई कारबाही गर्दै कलेज प्रशासनले निकाल्दिन्छ । ती छात्रामा शिक्षकहरूले कुनै मिजासिलो स्वभाव देखेनन् ।

    images

    आखिर उनै छात्रा निर्दोष बालबालिकाको अभिभावक बन्न पुगिन् । तिनै कर्मठ नारी हुन्– पुष्पा बस्नेत ।

    उनीसँगैसँगै कलेज बंक गर्ने अरू दुई साथी पनि हुन्छन् । तर तिनलाई चाहिँ पढाइ राम्रो भएकाले कलेज प्रशासनले कुनै कारबाही गर्दैन । 
    उनी पढ्नमा कमजोर भएकाले सेन्ट जेभियर्स कलेज प्रशासन पुष्पासँग रिसाएको होला भन्ने उनको उनको ठम्याइ छ । कलेजको त्यो कदमले उनलाई न्याय र अन्यायबारे प्रष्ट हुन झक्झक्याउँछ ।

    तर यसअघि नै उनी कलेजको सोसियल वर्क अन्तर्गत हनुमानढोकास्थित अपराध महाशाखाको कारागारमा गएकी हुन्छिन् । त्यहाँको प्रशासन कसरी चलेको हुन्छ भन्नेबारे उनलाई असाइन्मेन्ट दिइएको हुन्छ ।

    त्यहाँ उनले अपराधमा संलग्न आमासँगै जेलमा परेकी एक बच्चीलाई देख्छिन् ।
    यसपछि पनि पुष्पा नियमित रूपमा कलेज जान्छिन् । तर एकदिन उनलाई कलेज बंक गरेको निहुँमा कलेजबाट निकालिन्छ ।

    कलेज प्रशासनको चरित्र र देशको कानुनप्रति उनलाई यही कदमले सोच्न बाध्य बाध्य बनाएको उनको मत छ ।  

    उनी लेख्छिन्, ‘म पढेकी, सम्पन्न परिवारकी युवा उमेरकी छोरीलाई यतिविधि आपत् आइलागेको छ । त्यो अबोला बालिका जो जेलभित्र छे उसले कसरी दुनियाँलाई भन्न सक्छे कि जेल ऊ बस्ने ठाउँ होइन ।’ (पृष्ठ ५८)

    उनलाई कलेजले नै सोसियल वर्कको भिजिटका लागि पठाउने भयो । प्रहरी प्रशासन कसरी चलेको हुन्छ भन्ने बुझ्न उत्सुक उनी अपराध अनुसन्धान महाशाखा हनुमानढोका गइन् ।

    जीवनमा कति रमाइला ठाउँहरूमा पुग्दा पनि उनलाई त्यो भावावेश अनुभव नभएको तर जेल र प्रहरी प्रशासनबारे बुझ्न हनुमानढोका जाने भनेपछि उनी प्रफल्लित हुन थालेकी थिइन् । 
    जेल भन्नेबित्तिकै उनको मनमा जस्तो चित्र आउथ्यो वास्तवमा जेल त्यस्तो नरहेको उनलाई लाग्छ । लेख्छिन्, ‘तर, जेलको जस्तो चित्र मनमा कोरेर गएकी थिएँ , भित्र जाँदा त्यस्तो पटक्कै लागेन । भित्र त पसलहरू थिए, सानोतिनो घरेलु उद्योगको वातावरण पनि थियो । मानिसहरू मस्तले गफ गरेर बसिरहेका देखिन्थे । त्यस्तो क्रूर यातना मिल्ने छनक केही पनि मैले पाइनँ ।’ (पृष्ठ ५१)

    उनलाई यो सबै सफलताका लागि परिवारका सदस्यको साथ रहेको उनले खुलाएकी छिन् । बाआमाले आफ्ना सपनालाई पत्याइदिएर हौसला नदिएको भए उनमा रहेको सामाजिक कर्मको बिरूवाले ठूलो रूख हुन नपाउने उनी बताउँछिन् । उनले धेरैजना सहयोगीबिना एक्लै मात्रयो यो सबै सफलता र निरन्तरता प्राप्त नभएको सहर्ष उल्लेख गरेकी छिन् । 
    ‘सफलता असफलता’, ‘स्कूलको बिल’, ‘बन्द खाता’, ‘चिट्ठा’, ‘पछुतो’, ‘होस्टल’, ‘सम्बन्ध’, ‘नतिजा’, ‘फुर्सद’, ‘तस्करी’, ‘मुडुलो टाउको’, ‘प्रश्न’, ‘मौन पुरस्कार’, ‘निष्कासन’, ‘प्रयास’, ‘नयाँ पाइला’, ‘साथ’, ‘डेरा’, ‘रहस्य’, ‘किम’, ‘चिट्ठी’, ‘इल्गा’, ‘तोक्वान्दो’, ‘पाखण्ड’, ‘सानो संसार’, ‘कला’, ‘आत्माञ्जली’, ‘निरमाया’, ‘दृष्टि’, ‘क्याथनिलको कल’, ‘टप टेन’, ‘टिप्पणी’, ‘तयारी’, ‘जीत’, ‘अन्तर्वार्ता’, ‘पुतलीघरको खुसी’, ‘फेशन’, ‘स्वयम् सेवा’, ‘म्यानहटनका मनकाी’, ‘जेल’, ‘वेटिङ फर मामु’, ‘उपहार’, ‘अज्ञात दाता’, ‘डर’, ‘मीना’, ‘सपनाको उपलब्धी’, ‘पुतली घर’, ‘भुइँचालो’, ‘आशा’, ‘स्पर्धा’, ‘संस्था’, ‘आमा’, ‘स्वतन्त्रता’, ‘सीएनएनसुपर हिरो’ गरी ५३ अध्यायमा किताब तयार पारिएको छ ।

    यी सबै अध्यायमध्ये सुरूका आठ अध्यायमा पुष्पको बाल्यकाल पारिवारिक वातावरणबारे चर्चा गरिएको छ भने बाँकी ४५ मा जेलमा रहेका निरीह बालबालिकालाई अभिभावकत्व दिन आफूले गरेको प्रयत्न र सीएनएन सुपर हिरोको उपाधि चुम्दासम्मको सम्पूर्ण सजिला–अफ्ट्याराहरूको वर्णन छ ।

    उनलाई समाजसेवामा सुरूवात गराउने पहिलो कदम एसएलसीको नतिजाले दिन्छ । जब उनको एसएलसीको नतिजा बिग्रन्छ, अनि उनले घरनजिकैको एक बालमन्दिरमा समाजसेवीको रूपमा काम सुरू गर्छिन् । 

    तर, बालमन्दिरमा उनले बच्चाहरुमाथि न्यायोचित व्यवहार देख्दिनन् । उनले बालमन्दिरमा हुने बालतस्करी देखेपछि त्यसैत्यसै भावविह्वल हुन पुग्छिन् ।

    ‘बालमन्दिरका केही प्रसंग म भुल्न सक्दिनँ । विशेष गरी बच्चाहरू विदेशी नागरिकलाई धर्मसन्तानका रूपमा लैजान दिने त्यहाँको चलन र त्यसले ल्याएको विकृतिका सम्बन्धमा म सधैं घोत्लिने गर्छु । मलाई लाग्छ यो बदलिनुपर्छ तिनताक एउटी सानी केटी बालमन्दिरमा बसेको सम्झिन्छु । एकजना अमेरिकीले उसलाई लैजान चाह्यो, धर्मपुत्री बनाएर । त्यसका लागि उसले धेरै पापड बेल्नुपर्यो ।’ (पृष्ठ ३५)

    यसरी विदेशीले लैजाने बालबालिकाले सुरूमा विदेशी समाजमा धेरै नै कष्टसाध्य जीवन ब्यथित गर्नुपरेको वास्तविकतालाई पनि उनले उल्लेख गरेकी छिन् ।
    एसएलसी फेल भएर पुरक परीक्षा पास नगर्दासम्मका दिनहरूमा उनी त्यही बालमन्दिरमा काम गर्छिन् । तर जब उनी सेन्ट जेभियर्स कलेज भर्ना भएर कक्षा १२ मा पुग्छिन्, कलेज बंक गरेको निहुँमा कलेजले उनलाई रेस्टिकेट गरेपछि उनी आफैंलाई समाजसेवापट्टि मन जान्छ । र, सुरू गर्छिन्– पुतलीको घर । 

    उनले बालबालिका उद्धार र उत्थानका लागि काम गर्ने हुँदा आफ्नो संस्थाको नाम ‘पुतलीको घर’ राख्छिन् । किनकि जेलमा रहेका बाबुआमासँग आफू निर्दोष भएरै पनि अन्धकारमय जीवन बिताइरहेका बालबालिकालाई स्वतन्त्रताको खुला आकाशमा ल्याउन सघाउने भएकाले संस्थालाई उनले पुतलीको घरबाट सम्बोधन गरेकी हुन् । 

    उनले धेरै मनकारीहरूसँग सहयोग माग्दै अन्तत संस्थाको नाममा बालबालिका गृह बनाउन सफल हुन्छिन् । घर बनाउनुपूर्व अनर्किटेक्टकोमा पुग्दा आर्किटेक्टले उनलाई, ‘घरको डिजाइन कस्तो गर्ने ?’ भनेर सोध्छन् ।
    जवाफमा उनले, ‘पुतलीको जस्तो,’ भन्ने उत्तर दिन्छिन् । ‘परबाट हेर्दा हाम्रो घर चिटिक्क परेको पुतली जस्तो देखिन्छ । पुतली भनेको एउटा सपना हो, झुसिलकिराको सपना ।’ (पृष्ठ २३२)

    आफूले अन्तरआत्मदेखि नै गर्न चाह्यो भने त्यो सपना पुरा हुन समय लाग्ला तर, पुरा भएरै छोड्छ भन्ने मान्यतालाई पुष्पाको दृढता र अठोटले यहींनेर पुष्टि गरेको छ ।
    सफलता र असफलता जीवनका सारभूत तत्व हुन भन्ने तथ्य उनले सरल उदाहरणमार्फत नै प्रस्तुत गरिदिएकी छिन् ।

    उनले समाजिक काम गर्न सुरू गर्दा व्यावसायिक पृष्ठभूमि भएको परिवारका सदस्यमा सुरूमा केही अन्योलता देखिन्छ । तर विस्तारै उनले जेलमा रहेका निर्दोष बालबालिकालाई शिक्षादिक्षा दिने र अभिवावकत्व दिँदै गएपछि परिवारका सदस्य पनि पुष्पाको कामबाट खुसी हुन थाल्छन् ।

    उनले धेरै बालबालिकालाई शिक्षा लिएर, पोषिलो खानेकुराको समेत व्यवस्था गर्दै खेलकुदमा पनि संलग्न गराउँछिन् । पेन्टिङजस्ता सिर्जनशील क्षेत्रमा पनि बालबालिकालाई आकृष्ट गर्छिन् ।

    यसले बालबालिकामा आफ्नी आमा नै पुष्पा हुन् भन्ने गहिरो छाप पर्न जान्छ । उनी केही समय पुतलीघरबाट टढा गई फर्केर आउँदा पनि बालबालिकाले उनलाई अत्यन्त हार्दिक व्यवहार देखाउँछन् ।

    उनले पुतलीको घरमार्फत कारागारमा रहेका निर्दोष बालबालिकाको उद्धारको प्रयत्नलाई कुनै सीमित जिल्लामा केन्द्रीत नगरी पूर्वदेखि पश्चिमसम्मका सबै जिल्लाका कारागारमा रहेका बालबालिको उद्धार र रेखदेखलाई समय दिएकी छिन् ।

    बाह्य फेशन र उत्ताउलोपनलाई वास्ता नगर्ने उनी अमेरिकको प्रतिष्ठित विश्वचर्चित पुरस्कार समारोहमा दुईपटक अमेरिका उपस्थित हुँदा पनि उनको सादापनमा कुनै अन्तर नआएको उनले महसुस गर्दै लेखेकी छिन् ।

    पत्रकार तथा लेखक घनश्याम खड्काले आफ्नो सरल लेखनशैली यस किताबमा पनि उस्तै तरिकारले प्रयोग गरेका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology