Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मेरो क्याम्पसमा शौचालयको खोजी

मेरो क्याम्पसमा शौचालयको खोजी

  • 2.2K
    SHARES
  • मेरो क्याम्पसमा शौचालयको खोजी

    भुँडीमा, ब्युझिएदेखि नै अमेरिका-सिरिया युद्ध भइरहेजस्तो गुटुङटुङ, गुडुडुडु.... यस्तै आवाज आइरहेको थियो ।
    ओहो ! यो सानो भुँडीभित्र पनि कत्रो ठूलो रणभूमि रहेछ कि क्या हो  !

    images

    एकैछिनमा अमिलो डकार ! आउँदा बित्तिकै छाद आयो । ओहो ! भुँडीभित्र यस्तो अमिलो निर्माण गर्ने कम्पनी कसरी स्थापना हुनसकेको होला ? 

    छाद आएपछि भुँडीको अम्लीय पदार्थ सकिएछ क्यार ! तर पनि अमेरिका-रसियाबीचको शीतयुद्धको छनक चलिरहे जस्तो महसुस भयो । भुँडी ठिक भए पनि पूर्ण ठिक नभएजस्तो ।

    हतार-हतारमै नुवाइधुवाइ सिध्याएँ । 

    घडी हेरें- ६ बजेर पन्ध्र मिनेट गइसकेछ । कोरोनाकाल काटेर १ वर्षपछि बल्लबल्ल लागेको कलेज जान भित्रै मनदेखिको उत्कट अभीप्सा यो जाबो छाद र भुडीको गडगडाहटले के रोक्न सकोस् ?

    सभामुखमा नियुक्त भएपछि अग्नि सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हात मिलाउन दौडिएजसरी नै कलेजतिर दौडिए ।

    कलेजहातामा बाइक रोकेँ । उत्रिन लाग्दा सानो आन्द्रा भरिएको अनुभूति भयो । दिसा रोक्न हम्मे हम्मे पर्यो ।

    कलेज वरपर औषधि पसल खोजीहेरेँ, बिहानै भएकाले खुलेका थिएनन् । बल्ल बल्ल एउटा ठूलै हस्पिटलको फमेर्सीमा पुगेपछि झाडापखाला रोक्ने औषधि किनेँ ।

    ‘एसो केही खाएर खानु’ बिसको नोट समाएपछि ती दाइले सुझाए । एसो सोचेँ, बिहान कोठामै नून हालेको तातोपानी खाएकै छु । क्यान्टिनमा गएर तातोपानी मागेँ र औषधि खाएर क्लास पसेँ ।

    मन पढाइतिर पटक्कै गएन । दिसा कसरी थाम्ने भन्नेबारे सोच्दासोच्दै शरीरमा बढो कष्ट उत्पन्न भयो ।

    अमिलो मात्रा बढेछ क्यारे भुँडी बटार्न फेरि सुरु भयो । ओहो ! कति लामो कक्षा, पढाइ कहिले सकिन्छ ? मन यी कुरामा केन्द्रीत हुन थाल्यो ।

    बल्लबल्ल क्लास सकियो । एकपटक दिसा गर्न शौचालय जान मन लाग्यो ।

    क्याम्पसमा सधैं पिसाब मात्र फेर्थें । आज त दिसा बस्नुपर्ने भयो । शौचालय छिरेँ । एकदमै डङडङ गनाइरहेको भए पनि आफ्नो आवश्यकता पुरा गरिहाल्ने मनासयले त्यो दुर्गन्ध धिमा महसुस गरेँ ।

    तर शौचालयमा टुटी भत्किएको धारो भए पनि त्यसबाट पानी आउन सकेको रहेनछ ! धन्न यति विचारेर मात्र दिसा बस्ने निधो गरेँछु । नत्र त के हबिगत हुन्थ्यो होला !

    भुडी झन् बेस्कन गडगडाउन थाल्यो । के मेरो भुँडीभित्रको संयुक्त राष्ट्रसंघ कमजोर भएर तेस्रो विश्वयुद्ध चल्न  सुरू भएको हो !

    शौचालय खोज्दै क्याम्पस परिसरकै अर्को भवनमा भए । प्रोफेसरहरू बस्ने पुराना कुर्सीको चाङले शौचालयको ढोका पुरै बन्द गराइएको रहेछ ।
    हरे शिव ! के गर्ने गाह्रो भो ! म दिसा बस्न कहाँ जाउँ ?

    ‘के भो यार ?’ चिनारु एक साथीले सोधे ।

    ‘पखाला चलेर मर्ने बेला भो यार, हाम्रो क्याम्समा शौचालय छैन ?’ मैले उल्टै सोधें ।

    ‘यस्तै हो यार लङ ट्वाइलेट गर्न त समस्यै छ,’ ती साथीले भने, ‘एसो क्यान्टिनतिर जाउँ न ।’

    क्यन्टिनमा गएँ तर त्यहाँको शौचालयमा पनि पानी नआउने भएको रहेछ ।

    अब के गर्ने ? तनाब भयो । 

    नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश भन्ने मैले पढेको तथ्य साँचो थिएन कि क्या हो ?

    मेरो देशको संघीय राजधानी काठमाडौंलाई त सरकारले केही वर्षअघि नै खुला दिशामुक्त जिल्ला घोषणा गरिसकेको हो ।

    कि सरकाले गरेको घोषणा र त्यस घोषणाबाट नागरिकले पाउने सेवासुविधाबीच खाडल रहन्छ ? सोच्न बाध्य बनायो ।

    म यही राजधानीकै क्याम्पसमा अध्ययनरत विद्यार्थीको हालत यस्तो छ भने बाहिरी जिल्लाबाट केही दिन घुम्न वा अन्य प्रयोजनले राजधानी आउने सर्वसाधणले शौचालयको सहज उपभोग गर्न पाएका छन् त ?

    संयुक्त राज्य अमेरिकाको नासाले मंगलग्रहमा हेलिकप्टर उठाउने निधो गरेको त हिजो हो क्यार !

    तर हाम्रो क्याम्पसमा मैले त्यो विषयबारे साथीहरूसँग बुझ्न पनि पाइरहेको छैन, मलाई शौचालय खोज्नमै ठिक्क छ ।  

    क्याम्पस प्रशासन पनि व्यवस्थित शौचालय निर्माणको पक्षमा छै ? कि भएर पनि वास्ता नगरेको हो ?

    क्याम्पसमा गठित स्वतन्त्र विद्यार्थी युनियनमा उठ्ने विद्यार्थी नेतालाई पनि भोट त हालेको थिएँ ।

    भोट माग्न कक्षाकोठामा आएका बखत या क्याम्पस गेटमा उभिएर हामी विद्यार्थीलाई नमस्ते गर्दै उनीहरूले विद्यार्थीका हक र हितमा काम गर्ने वचन दिएका थिए । खोइ त उनीहरूको वाचा, कहाँ पुग्यो ।

    कि माउ पार्टीका नेताजस्तै चुनावताका घोषणापत्र बाँड्दै जनताको आँखामा छारो हाल्ने उपक्रम विद्यार्थी नेताबाटै सुरू गरिने हो ? 

    क्याम्पसमा विद्यार्थीको हकहितका पक्षमा सधैं चर्को नारा लाग्छ । राजनीतिक दलका विद्यार्थी संगठनका ‘प्यारो दाइ’ ‘प्यारी दिदी’ लाई स्ववियुमा हामी विजयी गराउँछौं । तर त्रिविसँग वा सहरी विकास मन्त्रालयसँग उनीहरूले क्याम्पसमा भरपर्दो शौचालय बनाउने आवाज किन उठाउँदैनन् ?

    समाचारमा पढ्ने गर्छु, दुर्गम जिल्लाका विद्यालयमा व्यवस्थित शौचालय नभएकै कारण महिनावारी भएका बेला छात्राहरू विद्यालय नै जान नसक्ने बाध्यता छ ।  दुर्गम जिल्लाको के कुरा राजधानीकै क्याम्पसका शौचालयको हालत यस्तो छ, यहाँ पनि महिनावारी भएका बेला महिला साथीहरूलाई के दुर्गम जिल्लाका विद्यार्थीलाई भन्दा कम सकस नपरिरहेको होला र ?

    प्रधानमन्त्रीको, त्यसभन्दा तल मन्त्रीको, त्यसभन्दा अझै तल त्रिवि डिनको, त्यसको केही तल स्ववियुमा रहेका विद्यार्थी नेताको र स्ववियूजत्तिकै शक्तिशाली कलेज प्रशासनको यस्तो गैरजिम्मेवारीपनलाई सामान्यीकरण गर्दै दुर्गम जिल्लाका विद्यालयको उदाहरण दिँदा मात्र मलाई सन्तोषचाहिँ मिलिरहेको छैन !

    यस्ता दिग्भ्रमित विचार सङ्गाल्दै कक्षकोठा फर्किए, झोला टिपेँ र हतार-हतार कोठा फर्किएँ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology