Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

कमल थापाको दृष्टिमा पृथ्वीनारायण शाह [विचार]

कमल थापाको दृष्टिमा पृथ्वीनारायण शाह [विचार]

  • 513
    SHARES
  • कमल थापाको दृष्टिमा पृथ्वीनारायण शाह [विचार]

    श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरूप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौं । यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको छ ।

    २०६२/६३ को जनआन्दोलन पश्चात् परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रूपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई स्थापित गर्ने प्रयास भयो । मुलतः नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरूबाट अभिप्रेरित र  प्रायोजितरूपमा आएका हुन् यी मान्यताहरू ।

    यी मान्यताहरू स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्त्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आवश्यक थियो । राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण इतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आवश्यक ठानियो । त्यसैको फलस्वरूप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र इतिहासलाई समेत गलत ढंगबाट व्याख्या विश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरू भए ।

    यस कार्यमा कतिपय राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजिवीवर्ग र आमसञ्चार माध्यमहरूलाई समेत प्रयोग गरियो । नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरूपमा प्रदूषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाइयो । श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण गरेका होइनन् केवल निहित स्वार्थपूर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको विस्तार गरेका हुन् । उनको अभिायन र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा बिजित राज्यका जनताको संस्कृति र सम्पतिमाथि शोषण गरे भन्ने जस्ता तथ्यहीन र भ्रामक प्रचारहरू गरियो ।

    प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा समेत २०६२/६३ को परिवर्तन लगत्तै तत्कालीन सरकारले अन्त्य गर्‍यो ।सरकारीस्तरबाट उपेक्षा गरिएता पनि जनस्तरबाट भने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमी आएन । बरू त्यो अझ व्यापक हुँदै गएको छ ।

    राष्ट्रनिर्माताका वारेमा फैलाईएका भ्रमहरू समेत क्रमशः हटदै गएका छन् । वास्तवमा २५० वर्ष अघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मूल्यांकन गरेर निष्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्दछ । एकीकरण अभियानको क्रममा केही ज्यादति भए होलान् वा केही कमिजोरी भए होलान् तर, जेभएता पनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरूप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौं । उक्त समयमा नेपालको एकीकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालीन ब्रिटिश साम्राज्यको एक अगं हुन पुग्ने थियो ।

    दक्षिण एशियाली भूभागमा त्यसबेला रहेका सयौं ससाना राज्यहरूको नियति नेपालले समेत भोग्नु पर्ने हुनसक्थ्यो । भारतमा सुरुमा व्यापारको बहानामा पसेको इस्ट इण्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो । यहि नीति नेपालमा समेत अबलम्बन गर्न अंग्रेजहरूले प्रयास गरेका थिए । नेपाली जनतामा शिक्षा विस्तार र स्वास्थ्य सेवा पुर्‍याउने बहानामा (केपुचिन) पादरीहरू नेपाल पसेका थिए, उनीहरू नेपाललाई कमजोर बनाएर व्यापारीक सम्बन्ध बढाउने तथा बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे ।

    दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरूको यो षडयन्त्रलाई समय मै बुझेर असफल बनाई दिएका थिए । साथै ई.सं १७६७ मा सिन्धुलीको लडाइँमा अंग्रेजहरूलाई पराजित गरि नेपालको अस्तित्व जोगाएका थिए । त्यसबेला नेपाल एकीकृत नभएको भए तत्कालिन बाईसी चौबिसी राज्यहरूमा आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्ने सैन्य र सामरिक शक्ति एवं क्षमता थिएन । यस्तो घाम झै टडकारो सत्यलाई उपेक्षागर्दै राष्ट्रनिर्माताप्रति नकरात्मक र अनर्गल व्याख्या विश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपूर्ण देखिन्छ ।

    आधुनिक नेपालको निर्माणसँगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्दति स्थापित गर्ने क्रममा पनि श्री ५ पृथ्वीनारायण शाहको महत्त्वपूर्ण  योगदान रहेको छ । आफ्नो जीवनको उत्तरार्द्धतिर उनले दिव्यउपदेश मार्फत् भाविपिंढीलाई राज्यसंचालनको निमित्त सर्वकालिक महत्त्व रहेको मागदर्शन दिएका छन् ।

    दिव्यउपदेशमा उल्लेख भएका कतिपय बिचारहरू अहिले पनि सान्दर्भिक रहेको पाइन्छ । “यो नेपाल चार वर्ण छत्तिस जातको साझा फूलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्दछ’’ भन्ने दिव्यउपदेशमा उल्लेखित महावाणीको औचित्य र महत्त्व अद्यापि कायम नै छ । नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होइन, यो राजाको व्यक्तिगत सम्पति पनि होइन, यो सबै नेपालीको साझा सम्पति हो भन्ने मान्यतालाई त्यसैबखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए ।

    एकीकरण मार्फत राज्यको सीमा विस्तार गर्नुका साथै एकिकृत र बिजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत उनले ध्यान दिएका थिए । यहि नीतिको परिणामस्वरूप नै एकीकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुटन सम्भव भयो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गुण र चरित्रका बारेमा विद्वान राजनीतिज्ञ डा.डिल्लीरमण रेग्मीले सटिक ढंगबाट चित्रण गरेका छन् ।

    डा.रेग्मीको भनाइमा “श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो । विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो । देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति सबै गुणहरू एकसाथ उनमा विद्यमान थिए । त्यसैले नयाँ अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रीय शासनको अधिन होस् र तिनमा बसोवास गर्ने विभिन्न सम्प्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाउन् र उनीहरूको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे ।’’

    श्री ५ पृथ्वीनारायण शाहको योगादनलाई कुनै निश्चित राजनीतिक व्यवस्था वा संस्थासँग जोडेर हेर्नु अतिशयोक्तिपूर्ण हुने छ । तत्कालीन राजनीतिक प्रणालीलाई वर्तमान व्यवस्थाको औचित्यताको कसिमा विश्लेषण गर्नु पनि गलत हुनेछ । श्री ५ पृथ्वीनारायण शाहप्रतिको सम्मानबाट राजसंस्थालााई समर्थन गरेको निष्कर्ष निकाल्नु वा त्यस कार्यबाट गणतन्त्र कमजोर हुन्छ भन्ने मानसिकता सर्वथा अनुपयुक्त छ । त्यो केवल हीन मनस्थितिको उपज मात्र हो । वास्तवमा राष्ट्रनिर्माताको सम्मान हामी नेपाली हुनुको गौरवको अभिव्यक्ति हो । नेपालमा राजसंस्था आवश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक विषय हो ।

    श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेका हुन वा गोरखा राज्यको विस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ । जसरी व्याख्या गरेपनि परिणाम एउटै हो- नेपाल राज्यको निर्माण । उनकै योगदानको कारणबाट नेपाल दक्षिण एशियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध र सीताको जन्मभूमि भन्ने शौभाग्य हामी नेपालीले प्राप्त गरेका छौं ।

    विगतमा जेजस्ता त्रूटि भएता पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउने वारे राष्ट्रिय सहमति हुनु आवश्यक छ । राष्ट्रनिर्माताको योगदानको अवमूल्यन गर्ने पिंढीले राष्ट्र बचाउन र बनाउन सक्दैन । श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ । नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् ।

    [राप्रपाका पूर्वअध्यक्ष कमल थापाको फेसबुक एकाउन्टबाट] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology