वेबटिभी खबर
काठमाडौं । दुई दिनको अवधिमा देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको छ ।
मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुबाट प्रहरीले लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–८ सिमपानीबाट २० किलो ५ सय ग्राम चरेस र १० किलो गाँजाको धुलोजस्तो देखिने पदार्थसहित राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ र उनका दुई जना सहयोगीलाई बुधबार बिहान बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीमा लागूऔषध भेटिएपछि चालक थिङसमेत ३ जनालाई पक्राउ गरेको हो ।
सिरहा जिल्लाको लहान नगरपालिका–१२ पडरिया चोकबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ११ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने प्रशान्त चौधरी लगायत तीन जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-७ भलवाडीबाट विभिन्न लागूऔषध सहित भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलम लगायत तीन जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट बरामद भएको प्रहरीले जनाएको छ ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–२० राझा चोकबाट ४ लिटर कोरेक्स र १ हजार क्याप्सुल ट्रामाजोल सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४२ वर्षीय बिबेकसिल मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट १६ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जमुनाह नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट ११ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको औरही गाउँपालिका–१ पौडौश्वरबाट २ सय ५० ग्राम गाँजा, नियन्त्रित लागूऔषध १२ ट्याब्लेट नाइट्राभेट र ४ क्याप्सुल स्पास्मो प्रोक्सभिन प्लस सहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय सहनी र ४२ वर्षीय कृष्णा सहनी रहेका छन् ।
मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ माहादेवाबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र ५ लिटर कोरेक्स जस्तो देखिने वस्तु सहित झापा गौरीगंज गाउँपालिका–५ बस्ने ३५ वर्षीया सरस्वती शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेकी उनलाई प्रहरीले जाँच गर्ने क्रममा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका–१ ईमिलियाबाट नियन्त्रित लागूऔषध १ सय ३३ ट्याब्लेट उइनस्पास्मो र ९ ट्याब्लेट नाइट्राभेट सहित शुद्धोधन गाउँपालिका–१ बस्ने २१ वर्षीय रेशम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij