वेबटिभी खबर
सप्तरी । कोरोना भाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका विद्यार्थी र अभिभावक पठन-पाठनलाई लिएर चिन्तित भएका छन् । अध्ययनविना नै कक्षा चढ्ने हुँदा यसले विद्यार्थीको क्षमताका ह्रास आउने भन्दै अभिभावक चिन्तित् भएका हुन् ।
सप्तरीको राजविराज नगरपालिका-१५ को महावीर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विवेक मण्डलले भने,‘कक्षा ६ मा हुँदा कोरोनाको पहिलो लहर सुरु भएपछि परीक्षा नदिएरै ७ कक्षामा पुगेँ । कक्षा ७ मा आठ महिना पढाइबाट बञ्चित हुनुपर्यो । चार महिना पढेर कक्षा ८ मा पुगेँ । आठमा पुग्नेबित्तिकै दोस्रो लहर सुरु भयो । पाँच महिना विद्यालय बन्दपछि पठन-पाठन सुरु भएको पाँच महिना नबित्दै पुनः विद्यालय बन्द भएपछि हामी विद्यार्थीको पढाइ चौपट्टै भयो ।’
उनको जस्तै राजदेवीमावि राजविराजको कक्षा १० मा अध्ययनरत आरती झाको पीडा पनि उस्तै छ । ‘दुई वर्ष विद्यालय न गएरै एसईई आईसक्यो । के गरौँ ? कसो गरौँ ? चिन्ताले सताउँन थालेको छ,’ उनी भन्छिन् ।
विद्यार्थी र अभिभावकले कोरोना भाइरसविरुद्धको खोप लगाएर नियमित पठन-पाठनको व्यवस्था गर्नुपर्ने बताएका छन् । राजविराज नगरपालिका २ कि किरण मण्डलले भनिन्, ‘विद्यालय बन्द गर्नुभन्दा पनि विद्यार्थीहरूलाई भ्याक्सिन लगाएर पढाउनु राम्रो हुन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij