Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

काेराेना भाइरस संक्रमण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ

काेराेना भाइरस संक्रमण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ

  • 837
    SHARES
  • काेराेना भाइरस संक्रमण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ

    काठमाडौं । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रूको बढी जमघट हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ ।

    कोभिड-१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’ लाई कडाइ गरेको हो । अन्तर्राष्ट्रिय उडानमा जाने यात्रूलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ ।

    विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईंले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको बताए ।

    गुरागाईंले भने, ‘विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ ।’

    पछिल्ला दिनमा निरन्तर कोभिडका संक्रमित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रूहरूको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ ।

    यस्तो समस्या अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा भएको छ । आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रू खचाखच हुने गरेको छन् ।

    भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ गरेको छ । मास्क अनिर्वाय, स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रू वर्गमा अनुरोध गरेको छ ।

    त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले  उडान भर्दै आएका छन् ।

    विमानस्थलका महाप्रबन्धक गुरागाईंका अनुसार अन्तर्राष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरूप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रूलाई अनिवार्य रूपमा कोभिडविरूद्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

    अन्तर्राष्ट्रिय उडानका यात्रूले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रूले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन् ।

    कोभिड संक्रमण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरूरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो ।

    विमानस्थलमा भीडभाड हुने भएकाले जरूरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ । हवाईयात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

    यता अध्यागमन विभागले पनि अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । विभागले पुस २८ गते ट्राभल एडभाइजरी जारी गर्दै नयाँ भेरियन्टको संक्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij