वेबटिभी खबर
धनगढी । पश्चिम नेपालकाे तराईका थारू बस्तीमा माघी पर्वकाे राैनक छ । १ माघलाई यहाँ माघी पर्वका रूपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारू बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारू परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ ।
घरबाहिर रहेका सदस्यहरू पनि माघी मनाउन आइसकेका छन् । थारू समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरू हुने गर्छ । १ माघदेखि थारू संवत २६४४ सुरू हुँदैछ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर)को मासु खाने प्रचलन छ । ‘नयाँ वर्षलाई स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएकाे छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, याे वर्ष काेभिड संक्रमणका कारण मेलाकाे राैनक छैन ।
खानपिन संस्कृति
माघीमा बंगुरकाे , माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ । यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।
थारू अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । याे आज राति हुन्छ । यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारू समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारू समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन् ।
भल्मन्सा, गुरूवा चयन गरिँदै
थारू समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरूवा (धामीझाक्री) र चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खाेप कार्यक्रम लगायतकाे जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साकाे राेहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।
माघीकाे दोस्राे दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारू समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij