Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

संघर्ष : घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म 

संघर्ष : घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म 

  • 466
    SHARES
  • संघर्ष : घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म 

    सुर्खेत । कालीकोटको खाडाचक्र नगरपालिका-८ का प्रेम प्रकाश चौलागाईं हाल वीरेन्द्रनगर-३ सुर्खेतमा गार्मेन्ट उद्योग सञ्चालन गर्छन् । उनी आफैं कामदार आफै मालिक हुन् । यहाँसम्म आउन उनका दुःख संघर्ष सुनिनसक्नुका छन् । ११ वर्षको उमेरमै आमा गुमाए । आमाको मृत्युको घाउ नपुरिँदै १५ वर्षको उमेरमा बुबाले पनि संसार छाडे । प्रेम घरको काइँलो छोरा हुन् ।

    images

    आमाबुबाले नै संसार छाडेर गएपछि ६ दाजुभाइ-दिदीबहिनीका दिनहरू संघर्षमा बिते । आमाबुबाले संसार छाडे पनि दाजु-दिदीबाट उनलाई मायाको कमी भने भएन । उमेर सानै भए पनि प्रेममा व्यवसाय गर्ने हुटहुटी चलिसकेको थियो । बाल्यकालको उमेरमै तल्लो माथिल्लो घरका दाजुभाइ घुमन्ते व्यापार गरेको देख्दा प्रेमलाई पनि घुमन्ते व्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

    २०६९ साउनबाट १७ वर्षको उमेरमै उनी घुमन्ते व्यापारमा निस्किए । घुमन्ते व्यवपार जुम्ला हुम्लालगायत साविकको भेरी कर्णाली अञ्चलको पुर्ख्यौली पेसा नै हो । घुमन्ते व्यापार गर्ने बुबाको निधनपछि पुरानो पेसालाई अंगाल्नुपर्छ भन्ने सोचले कैयौँ ठाउँ पुगे । कहिले हिमालको खोँचमा त कहिले पहाडका उकाली ओराली त कहिले तराईका फाँट पुगे । 

    २१ साउन २०६९ देखि बुटवलमा फेन्सी पसल सञ्चालन गरे । पढाइ खर्च जुटाएर १२ कक्षा अध्ययन गर्न काठमाडौ छिरे । १२ कक्षाको परीक्षा दिएर फेरि कैलालीको अत्तरिया पुगेर व्यावसायिक यात्रा सुरु गरेको उनी बताउँछन् । २०७० मा घुम्ती व्यवसायका लागि पुनः बैतडीको देहीमाण्डौं पुगेर केही समय उतै बसे  । त्यहाँ बस्दा थुप्रै किसिमका चुनौतीको सामना गर्नुपरेको अनुभव उनीसँग छ 

    ‘घुम्ती व्यपारको सिलसिलामा देहीमाण्डौमा तीन महिना बिताएँ,’ उनले भने, ‘त्यहाँ बस्दा थुप्रै चुनौती सामना गर्नुपर्‍यो । घुमन्ते व्यापार त्यति गर्न पाइन्थेन । ठूलो व्यापार गरेर स्थायी रूपमा बस्न आर्थिक लगानी थिएन । घुम्ती व्यापार गर्दा कैयौँ पटक सामान जफत भयो । कैयौँ पटक लखेटियौँ ।’

    २०७० भदौमा पुनस् अत्तरिया पुगे । त्यहाँबाट होलसेलमा सामान बोकेर पुनस् डोटीको सिलगढी गए र त्यहाँ दुई महिना बस्दा ३० हजार नाफा प्लस हुँदा महेन्द्रनगर पुगे ।

    त्यहाँको एक साहुलाई तीस हजार दिएर साढे तीन लाख बराबरको सामान हालेर २०७५ सम्म अछामको मंगलसेनबाट स्थायी रूपमा व्यवसाय सुरु गरेको चौलागाईँ बताउँछन् । पाँच महिना रुकुमको कमलताल,पश्चिम रुकुमको बाफिकोट दुई महिना र तीन महिना जाजरकोटको नलगाड नगरपालिकामा बिताए ।

    घुमन्ते व्यवसायले उनलाई कहिले सुदूरपश्चिमका अछाम, डोटी, कैलाली, कहिले कर्णालीका कालीकोट,जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, सुर्खेत पुर्‍यायो । यहाँसम्मको उनको दुःख मेहनतले एउटा सानो उद्योग खोल्नेसम्म आर्थिक लगानी जुटाए । २०७५ मै सुर्खेतको वीरेन्द्रनगर-३ मा दाजुभाइ गार्मेन्ट उद्योग सञ्चालन गरेको उनी बताउँछन् ।

    पिठ्युँमा भारी बोकेर व्यापार गर्दा लखेटिनु परेको प्रेमले सुनाए । ‘घरपरिवारको पालनपोषण गर्न र आफ्नो पढाइ खर्च जुटाउने अरु कुनै विकल्प थिएन,’ उनले भने,‘खुल्ला रूपमा व्यापार गर्दा र उनीहरूबाट लखेटिँदा कहिले जंगलमै बास हुन्थ्यो । कहिले चाउचाउ बिस्कुटको सहारामा पहाडका उकाली ओराली बाटोमा यात्रा गर्नुपर्थ्यो । दिनहरू संघर्षमै बिते ।’

    घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म

    २०६९ देखि घुम्ती व्यपार थाल्दै विभिन्न आरोहअवरोह गर्दै चौलागाईंले अहिले आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् । २०६९ देखि २०७५ सम्म घुम्ती व्यापार गर्दै २०७५ देखि नै सुर्खेतको वीरेन्द्रनगरमा गार्मेन्ट उद्योग सञ्चालन गरेर ११ जनालाई रोजगारीसमेत दिएको उनी बताउँछन् ।

    जातको आधारमा विभाजित गर्ने हाम्रो समाजमा नेपालीले मात्र कपडा सिउनुपर्छ भन्ने रुढीवादी परम्पराको अन्त्य हुँदै गएको छ । उनी गार्मेन्टको आफैं मालिक र आफै कामदारसमेत हुन् । चौलागाईंले मासिक २५ देखि ५० हजार र वार्षिक तीन लाख देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् ।  
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology