वेबटिभी खबर
चीन । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरूद्धको खोप लगाएका छन् । स्वस्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरूद्धको खोप लगाएका हुन् ।
शुक्रबारसम्मको तथ्यांकमा १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ । शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन् । सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए ।
शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोनाविरूद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताएका हुन् । सो पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे । सो अवसरमा उनले अनिवार्य रूपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका थिए ।
चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका संक्रमितहरू देखिन थालेका छन् । ती संक्रमितहरूको पहिचान गरेर चीनका अधिकारीहरूले स्वास्थ्य सतर्कताका मापदण्डहरू अपनाउन आग्रह गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij