वेबटिभी खबर
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेता रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई लक्षित गरेर ‘गौरमा फणा देखाउने प्रयास नगर’ भन्दै चेतावनी दिएकी छिन् ।
मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो चेतावनी दिएकी हुन् ।
कार्यक्रममा उनले भनिन्, ‘राइस मिल अहिले पनि जीवित छ । गौरमा फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ ।’ मन्त्री यादवले गौर नरसंहार दोहोरिन सक्ने चेतावनीसमेत दिएकी छन् ।
‘यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु’ उनले चेतावनी दिंदै भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलून् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij