वेबटिभी खबर
कर्णाली । पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोनको भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । संक्रमणदर बढ्दै जाँदा बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको हो । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो ।
सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका-६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गर्दा बजारमा सिटामोलको अभाव भएको पाइएको छ ।
‘अनुगमन गर्दा राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन’, प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा ५ रुपैयाँ बढी पर्छ ।’ सिनर्जी फार्मेसीमा भने २८३ स्टिमअर्थात् २ हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए ।
केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य १ हुँदा कोडोपार छ/सात मा बजारमा बिक्री हुने गरेको बताए । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताए ।
‘कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ’, उनले भने, ‘सामान्यतः ज्वरो आउँदा, टाउको दुःख यही औषधि प्रयोग गरिन्छ ।’ प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीबाट आउन छोडेको बताए ।
औषधि सप्लायर्सहरुमा सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ । सिटामोल अभावले उपभोक्ता एवं बिरामीले ६ गुणा बढी मूल्य तिरेर कोडोपार औषधि किन्न बाध्य भएका छन् । बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो ? भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले जानकारी दिए ।
उनका अनुसार यही अवस्थालाई आधार बनाएर अब सरोकारवालाबीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरिने बताए । जिल्ला प्रशासन नेतृत्वको उक्त अनुगमनमा उपभोक्ता हकहित संरक्षण मञ्चका डा.हरि शर्मा, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि जनक थापा, प्रहरी निरीक्षक लालबहादुर सुनार, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका उदय बिसी र राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा वयकको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij