Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार

अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार

  • 704
    SHARES
  • अन्नपूर्ण आधार शिविर पदमार्गमा थपिँदै पूर्वाधार

    गण्डकी । विश्वका १० उत्कृष्ट पदमार्ग मध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ । चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो ।

    अहिले भने परम्परागत सुविधा सम्पन्न होटेल बनेका छन् भने पूर्वाधार थपिने क्रम जारी रहेको छ । एक वर्ष अघिसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल चलेकोमा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएका हुन् ।

    अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छ का दरले १५६ वटा कोठा रहेका थिए । पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको स्थानीय युवा पर्यटन व्यवसायी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए । 

    गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो । उक्त क्षेत्रमा टाढापानी-मुल्डे-हिडनलेक हुँदै छोम्रोङसम्मको अर्को पदमार्ग पनि सञ्चालनमा आएको उनले जानकारी दिए । पदमार्गमा पर्ने ४ हजार ३०० मिटर उचाइको हिडन लेक अर्को महत्वपूर्ण आकर्षण हो । उचाइमा भएका कारण जाडोमा जमेर बरफ बन्ने तथा गर्मीमा पग्लने भएका कारण कहिले देखिने त कहिले नदेखिने हुन्छ ।

    पर्यटन व्यवसायी एवं छोम्रोङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव दीलिप गुरुङका अनुसार पदमार्ग क्षेत्रका अन्नपूर्ण आधार शिविरमा पहिला चारवटा होटेल रहेकोमा अहिले दुईवटा थपिएका छन् । माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा रहेकोमा अहिले एउटा थपिँदैछ । हिमालयमा यस अघि दुईटा होटेल रहेकोमा एउटा थपिएको छ । देउरालीमा चार रहेकोमा अहिले एउटा थपिएको छ  । दोभानमा तीनवटा रहेकोमा दुई थप भई पाँचवटै होटेल सञ्चालनमा आइसकेका छन् ।

    पदमार्ग क्षेत्रको हिङ्कु क्षेत्रमा बारम्बार हिम पहिरो गइरहने भएकोले त्यहाँ करिब ३०० मिटर लम्बाइको झोलुङ्गे पुल हाल्न आवश्यक देखिएको अन्नपूर्ण गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष हिमबहादुर गुरुङले बताए । झोलुङ्गे पुल निर्माणका लागि तीनवटै तहको साथ र सहयोग आवश्यक देखिएको उनको भनाइ छ ।

    पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै उनले दोभान र हिमालयको बीचमा  १०८ पूजनीयम १०८ धारा र बराहको मन्दिर निर्माण भैरहेको जानकारी दिउ । मन्दिर निर्माणका लागि गाउँपालिकाले वडामार्फत १० लाख उपलब्ध गराएको छ । अन्नपूर्ण क्षेत्रको पर्यावरणीय संरक्षणका लागि यस क्षेत्रमा जथाभावी हेलिकप्टर उडानमा रोक लगाइएको वडाध्यक्ष गुरुङले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij