काठमाडौं । सरकारले यसअघि निजामती क्षेत्रका कोभिड संक्रमितलाई दिँदै आएको १४ दिनको बिदा घटाएर अहिले सात दिनमा झारेको छ । यसरी सात दिनमा झार्दा संक्रमितलाई बिदा अपुग हुने कर्मचारी ट्रेड युनियनहरूले बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कोभिड सबै व्यक्तिलाई सात दिनभित्रै निको हुन्छ भन्ने नभएकाले कतिपयलाई निको हुन १५ देखि २० दिनसम्म पनि लाग्ने भएकाले सरकारले न्यूनतम कोरोना बिदा दुई साता दिनुपर्ने बताए ।
उनले भने, ‘युनियनले केही दिनमै विज्ञप्तिमार्फत कोरोना बिदाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँछ ।’ उनले सरकारले बिदा घटाउने भन्दा बरू केही दिन बिदा बढाउनु उपयुक्त हुने सुझाव दिए ।
गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णयमा जुनसुकै सार्वजनिक संस्थाका पदाधिकारी वा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएमा अस्पताल बसेकोमा अस्पतालबाट डिस्चार्ज भएको तीन दिनसम्म बिदा दिने उल्लेख छ ।
त्यस्तै होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मका लागि र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई सम्बन्धित सुपरिवेक्षकको अनुमति लिई कोभिड-१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मका लागि निजको सञ्चित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा जनाउने भन्ने उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology