काठमाडौं । भारत तथा म्यान्मारको सीमामा दुई महिनाअगाडि नियन्त्रणमा लिएको कपालको मुद्दाले भारतको आन्ध्र प्रदेशको राजनीति तताएको छ ।
नियन्त्रणमा लिएको कपालको खेप तिरुमला तिरुपछि देवस्थानम (टिटिडी) बाट तस्करी गरिएको बताइएकाे छ । जुन मन्दिर मानिसको भावनासँग जोडिएको छ । कपाल तस्करीको बारेमा मन्दिर आउने भक्तालुहरुमा चर्चामा आउन थालेको छ । नियन्त्रणमा लिइएको कपालको मूल्य दुई करोड रुपैयाँ रहेको छ ।
असम राइफल्सको सर्च टीमले मिजोरमबाट लिएर गएको उक्त कपाल पक्राउ गरेको थियो । सामान्यतया त्यस क्षेत्रमा सुन तथा जंगली जनावारको तस्करी गरिन्छ तर पहिलोपटक सुरक्षाबलले मानिसको कपालले भरिएका १२० बोरा फेला पारेको हो । त्यसमा प्रत्येक बोरामा करिब पचास किलो कपाल थियो । यसको बरामद भएपछि विवाद बढेको छ ।
मार्च २० मा जारी गरेको एक आधिकारिक विज्ञप्तिमा सुरक्षाबलले कपालका ती बोराहरु ट्रकबाट पक्राउ गरेको उल्लेख गरेको थियो । केही अधिकारीले मिडियासँग ट्रक चालकले तिरुपतिबाट त्यति मात्रामा कपाल ल्याएको बताएको जनाएका थिए ।
अधिकारीका अनुसार चालक मुंगयान सिंहले इज्वल नाम गरेकी महिलाले उनलाई तिरुपतिबाट कपाल ल्याउने ठेक्का दिएकी थिइन् । भारतीय पत्रिका द हिन्दुको एक रिपोर्टमा अधिकारीलाई उधृत गर्दै ट्रकलाई देशका विभिन्न मन्दिरबाट कपाल ल्याउन लगाएको थियो तर जफत गरिएको ट्रकमा तिरुपतिबाट लिएर गएको कपाल रहेको उल्लेख गरेको थियो ।
भारतबाट तस्कर गरिएका कपाल सुरुमा म्यान्मार पुर्याइन्छ, पुनः थाइल्यान्ड पठाएर त्यहाँ तयार गरेर चीन पुर्याइने गरेको छ । अधिकारीका अनुसार चीनमा यी कपालबाट विग बनाएर विश्वभर बेचिन्छ । विश्वभर हुने विगको कारोबारमा चीनको ७० प्रतिशत नियन्त्रण रहेको छ ।
विशेषगरी भारतको केही मन्दिरमा कपाल चढाउने प्रथा रहेको छ । यसका कारण त्यहाँ सजिलै मानिसको कपाल उपलब्ध हुन्छ । विग कारोबारका लागि कच्चा पदार्थ भारतबाट नै चीन पुर्याइन्छ ।
आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा दैनिक पचास हजार श्रद्धालु दर्शन गर्न पुग्छन् । त्यहाँ पुगेका कम्तिमा एक तिहाईले आफ्नो कपाल दान गर्छन् । आर्थिक वर्ष २०२०–२१ म टिटिडीमा कपालबाट १३१ करोड भारु आम्दानी भएको थियो ।
विपक्षी तेलुगुदेशम पार्टीले टिटिडीका अधिकारीले म्यान्मारको सीमाबाट पक्राउ गरिएको कपालको जिम्मा लिनु पर्ने बताएको छ । पार्टीले यस मुद्दाको अनुसन्धान गरी कारवाही हुनुपर्ने माग राखेको छ । विगत दुई वर्षदेखि टिटिडी विवादमा फसेको छ । अब कपालको विषयमा नयाँ विवाद सुरु भएको छ । टिटिडीले भने कपाल किन्ने व्यक्तिहरुलाई कालो सूचीमा राखिने बताएको छ ।
प्रहरीका अनुसार आन्ध्र ज्योतिविरुद्ध एफआइआर दर्ता भएको छ, तर अनुसन्धानपछि मात्रै कसको भूमिका छ भनेर पत्ता लाग्ने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij