सुरञ्जन घिमिरे
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरूले पार्टीको समानान्तर संगठन विस्तारलाई थप सक्रिय बनाउँदै लगेका छन् । पार्टीको विधानविपरित काम गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल, शीर्ष नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेका छन् ।
पार्टीको समानान्तर संगठन विस्तारमा लागेका ती नेताले अध्यक्ष ओलीले एकलौटी निर्णय गर्दै पार्टीमा स्वेच्छाचारिता लादेको भन्दै उनको सो कारबाहीले आफूहरूलाई कुनै फरक नपर्ने दाबी गर्दै पार्टीको समानान्तर संगठन विस्तारमा सक्रिय बनेका छन् ।
समानान्तर संगठन विस्तारकै क्रममा आज (मंगलबार) नेपाल पक्षीय कास्की जिल्ला कमिटीका पदाधिकारीलाई शपथ खुवाइएको छ । पोखरामा जारी माधव नेपाल पक्षको कार्यक्रममा नवगठित कमिटीका सदस्यहरूलाई सपथ गराइएको हो ।
माधव नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा कास्कीमा गरिएको जिल्ला कमिटी भेलाले कमिटीको अध्यक्षमा धनराज आचार्य, उपाध्यक्ष शोभखर भण्डारी, सचिव होम नेपाली र उपसचिव पूर्ण लामा चयन गरेको छ ।
जिल्ला कमिटीका सदस्यहरूको नामावली टुंगो लागेपछि तुलबहादुर गुरुङको उपस्थितिमा सपथग्रहण भएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानअनुसार नचलेको भन्दै विधानतः कारबाहीमा गरेका नेपाल, पाण्डे, भीम रावल र घनश्याम भुसालले देशभर नै एमालेको समानान्तर संगठन विस्तार गर्ने घोषणा अनुरुप कास्कीको जिल्ला कमिटीले पूर्णता पाएको हो ।
सुदूरपश्चिममा भीम रावल
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई अघि बढाएको छ । सोमबारदेखि धनगढीमा जारी माधव पक्षीय प्रदेशस्तरीय विस्तारिक बैठकले समानान्तर कमिटी निर्माणको घोषणा गरेको हो ।
हाल निलम्बित एमालेका साविक स्थायी समिति सदस्य भीम रावलको अगुवाइमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक बस्न सुरु गरिएको छ । भीम रावलको विशेष उपस्थितिमा सोमबार बसेको बैठक नटुंगिएपछि जिल्ला कमिटी विस्तारका लागि मंगलवार पनि बैठक बस्ने भएको छ ।
बैठकमा सोमबार नेपालपक्षीय जिल्ला कमिटीका अध्यक्षहरूले शीर्ष नेता रावलसमक्ष वर्तमान स्थितिबारे ब्रिफिङ गरेका थिए । २३ फागुनमा सर्वोच्च अदालतको निर्णयपछि एमाले ब्युँतिएपछि देखिएको आन्तरिक विवादबारे अध्यक्षहरूले नेतृत्वलाई रिपोर्टिङ गरेका थिए ।
केही दिनअघि अध्यक्ष ओली नेतृत्वले नेपालपक्षीय जिल्ला पदाधिकारीहरू हटाएर ओलीनिकट कार्यकताले जिम्मेवारी पाएका थिए । रावलसहित बस्ने आजको बैठकले जिल्लामा आफूपक्षीय कार्यकर्ता हटाउने ओलीपक्षको निर्णय आफूहरुलाई मान्य नहुने विषयमा छलफल हुनेछ ।
जेठ ३ मा ०७५ मा नेकपा एकताअघि रावल एमालेको सुदूरपश्चिम इन्चार्ज रहेका थिए । साविक नेकपामै हुँदा पार्टीले लेखराज भट्टलाई सो जिम्मेवारी दिएकोमा एमले ब्युँतिएपछि पनि भट्ट नै इन्चार्ज कायम छन् ।
बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।
बागमतीमा पनि विस्तार
नेपाल पक्षले एमालेको सामानान्तर कमिटी निर्माणलाई तीव्रता दिँदै आज नै बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्ने जनाएको छ । दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको जानकारी दिएको छ ।
यसअघि काठमाडौं, खोटाङ, भोजपुर र गण्डकी प्रदेशका अधिकांश जिल्लामा माधवनेपालपक्षले समानान्तर कमिटी निर्माण गरिसकेको छ । जसमध्ये कास्की जिल्ला कमिटीका पदाधिकारीले आज शपथ लिएका हुन् ।
सो पक्षले पार्टीको विद्यार्थी, महिला र युवा संगठन पनि विस्तार गरिसकेको छ भने युवा संघको केन्द्रीय कार्यालय काठमाडौंको बुद्धनगरमा स्थापना गरिसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij