Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण कार्य सुरु

ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण कार्य सुरु

  • 523
    SHARES
  • ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण कार्य सुरु

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका-७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो ।

    images

    आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । ‘बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म ९ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ’, उनले भने, ‘एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न् सुरु गछौं’ ।

    ३ हजार ६०० मिटर लामो सुरुङ र १ किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर रहेको छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।

    कूल ३ अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।

    विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।

    यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका-३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागकाअनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका ४ जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।

    ५ दशमलव ५ मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै, २४.६५ मेगावाट क्षमताका ३ आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

    तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा-७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो । 

    रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।

    राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology