वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न संघीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् ।
काठमाडौंको स्वस्तिश्री गुरुकुल स्कुलमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघीय कानुन आएपछि शिक्षामा निजी क्षेत्रले थप लगानी गर्नसक्ने वातावरण तयार हुने जानकारी दिए ।
उनले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । मन्त्री श्रेष्ठले प्राविधि र उच्च शिक्षा तथा विद्यालय तहको शिक्षाका विषयमा छुट्टाछुट्टै कानुन बन्ने जानकारी दिए ।
मन्त्री श्रेष्ठले परिवर्तित समय र आवश्यताअनुसारको शिक्षा जरुरी रहेको उल्लेख गर्दै नेपाल शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे । ‘अहिले पनि ६०/७० हजार विद्यार्थी पढ्न विदेश जाने गरेका छन्, अर्बौं पैसा विदेश जान्छ,’ उनले भने, ‘त्यसलाई रोक्न नेपालमा गुणस्तरीय शिक्षा आवश्यक छ, संघीय कानुन बनेपछि केही प्रभावकारी हुन्छ ।’
राम्रो काम गर्दा टीकाटिप्पणी आउने उल्लेख गर्दै उनले धैर्य गर्न पनि सुझाव दिए । आजै स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’ घोषणा गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij