वेबटिभी खबर
भजनी । अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो । बाढीका कारण ५ वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्यो ।
गाउँपालिकामा निर्माणाधीन दुई आयोजनामा क्षति पुर्याउँदा आयोजनाको काम निकै प्रभावित मात्रै नभएर गाउँपालिकाका पूरै वडा अन्धकार भएका छन् । बाढीका कारण आंशिक प्रभाव परेका तीनवटा आयोजना सञ्चालन भएपनि अन्य आयोजना अहिलेसम्म पनि सञ्चालनमा आइसकेका छैनन् ।
सबै वडामा जलविद्युतकाे पहुँच पुगेको गाउँपाकिका डेढ वर्षदेखि उज्यालोबाट बञ्चित भएका छन् । लाखौँको लगानीमा निर्माण भएका आयोजना अलपत्र हुँदा त्यसको पुनः निर्माणका लागि स्थानीय तहले कुनै पहल नगरेको स्थानीयले गुनासो गर्दै आएका छन् । वडा नं १ का रामबहादुर विकले मलातिकोट साना लघुजलविद्युत् आयोजनाबाट उज्यालो पहुँचमा आएको बताउँदै लामो समयसम्म वडाका नागरिक विद्युतबाट बञ्चित हुनुपरेको बताए ।
वडा नं २ मा पनि सबैभन्दा पहिले बिजुली बलेको थियो । डोग्री खोलाको पानीबाट २० किलोवाट क्षमताको विद्युत आयोजना सञ्चालनमा आएको भएपनि स्थानीय सरकारले त्यसलाई कैलाश खोलामा सार्ने र त्यसको क्षमता बढाउने भन्दै विद्युत सेवा बन्द भयो । अहिलेसम्म न त बिजुली बल्यो न त आयोजना नै सफल भयो । पहिले उपभोक्ता समितिमार्फत काम भएको आयोजना अहिले ठेक्का प्रक्रियामार्फत निर्माण हुन लागेको छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर साउँदले अहिले वडा नं ३, ५ र ७ का केही भागमा मात्रै विद्युत सेवा सञ्चालन रहेको बताउँदै अन्य क्षेत्रमा अझै विद्युत्को पहुँच पुर्याउन नसकिएको बताएका छन् । गत वर्षको बाढीका कारण पाँच वटा आयोजनामा पूर्णरुपमा क्षति भएकाले त्यसलाई शुन्यबाटै सुरु गर्नुपर्ने देखिएको छ भने अन्य पाँच आयोजना सञ्चालनका लागि लाखौँ रकम खर्च हुने देखिएको छ ।
अध्यक्ष साउँदले भने, ‘गाउँपालिकाको बजेटले सबै आयोजना सञ्चालन गर्न सम्भव छैन । प्रदेश र संघ सरकारसँग बन्द भएका लघुजलविद्युत आयोजना सञ्चालनका लागि पटकपटक समन्वय भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पहल अझै हुन सकेको छैन ।’ उसो त गाउँपालिका रहेको वडा नं ३ सम्म राष्ट्रिय प्रसारण लाइनसमेत पुगिसकेको छ ।
बीचमा रहेको वडा नं १ र २ का गाउँ अझै अध्याँरोमा रहेका छन् । घरको आँगनबाट राष्ट्रिय प्रसारण लाइन जाँदा पनि विद्युतकाे उज्यालोबाट रामारोशनका जनता बञ्चित हुँदै आएका छन् । स्थानीय हर्क विकले भने, ‘चार वर्ष भइसक्यो आयोजनाको काम सुरु भएको नत बिजुली बाल्नका लागि स्थानीय सरकारले तत्परता देखाउँछ न त राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि ।’
गाउँपालिका अध्यक्ष साउँदले चालू आर्थिक वर्षमा वडा नं १ को केही भाग, वडा नं ४, वडा नं ५ को भटाकाटिया क्षेत्रमा पुर्याउने तयारी भएको बताए । उनले लघुजलविद्युत् आयोजनाको मापदण्ड र विद्युत प्राधिकरणको मापदण्ड फरक परेका कारण पनि पुरानो संरचनामा काम नहुने भएका कारण गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउन समस्या भएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष साउँदले भने, ‘गाउँपालिकाको ग्रामीण बस्तीमा जहाँ विद्युत्को पहुँच पुर्याउन कठिन भएका बस्तीमा सोलारको व्यवस्थाका लागि संघीय सरकारबाट २ करोड ५० लाख बजेट आएको छ । गाउँपालिकाका नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने प्रयत्नमा लागिपरेका छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij