वेबटिभी खबर
काठमाडौं । गायक दुर्गेश थापाको नयाँ गीत 'पैसा' पनि विवादमा तानिएको छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।
रक शैलीमा तयार गीतमा दुर्गेशले ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । 'अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ,' संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कलाकारले प्रयोग गर्ने शब्द, भेषभुषा र प्रस्तुतीले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।' 'पैसा' म्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।
‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट चर्चित बनेका दुर्गेशले त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । तर, उनले सिर्जना गरेका गीत र गाएका गीतका कारण हरेकपटकजसो विवादमा पर्ने गरेका छन् दुर्गेश।
तिहारमा दुर्गेशले निकालेको गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पुर्याएको थियो । गीतका शब्दहरुलाई लिएर जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई प्रहरीले बोलाएको थियो ।
त्यस्तै ‘बीच्च बीच्चमा २’को अन्तराको दुई लाइन हुबहु चोरिएको आरोप लागेको थियो । ‘बीच्च बीच्चमा ३’मा भने उनी भिडियोका कारण विवादमा तानिए ।
यस वर्ष उनले ल्याएको तीज गीत ‘ख्यास्स पुतली’ शब्दलाई लिएर निकै आलोचना भयो। यसरी विवादमा परेर नथाकेका दुर्गेशले के चर्चाकै लागि यस्तो स्टण्ट अपनाएका हुन् त ?
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij