Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

धानमा रोग लागेपछि चितवनमा धान उत्पादन घट्दै

धानमा रोग लागेपछि चितवनमा धान उत्पादन घट्दै

  • 706
    SHARES
  • धानमा रोग  लागेपछि चितवनमा धान उत्पादन घट्दै

    चितवन । चितवन जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्याङले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरकाअनुसार चालु आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट  ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए ।

    गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष १ लाख ३ हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले बताएका छन् । आव २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा १ लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    कार्यालयकाअनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आव २०७६/७७ मा ४ हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकामा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्याङले देखाएको छ ।

    तथ्याङकाअनुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटेपनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आव २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व ४ दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा ३ दशमलब ७९ मा झरेको थियो । चालु आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ । यस वर्ष उत्पादकत्व ३ दशमलव ९ पुगेको न्यौपानेले जानकारी दिएका हुन् ।

    स्थानीय पालिकाहरुले दिएको तथ्याङको आधारमा यस वर्ष धानको क्षेत्रफल र उत्पादन घटेको छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो । यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताए । प्रमुख अन्नबालीका रूपमा रहेको मकैको उत्पादन विगत २ वर्षमा स्थिर छ । पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्याङले देखाएको छ ।

    कार्यालयको तथ्याङकअनुसार आव २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिए । गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij