काठमाडौं । झापाको बिर्तामोडमा बुधबार बिहान हत्या गरी फालिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । बिर्तामोडस्थित सुगम पेट्रोल पम्प छेउको झाडीमा आज बिहान शव फेला परेको हो ।
उक्त शव अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । परियार राँगाको मासु काटेर बिक्री गर्दै आएका थिए ।
अन्यत्र हत्या गरेर शव त्यहाँ फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ । बिहान साढे ८ बजे नै स्थानीयबासीले बेबारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।
केही दिनअघि बिर्तामोडकै गाउँले होटलका संचालक तिलक निरौलाको पनि हत्या गरेको अवस्थामा शव चारआलीको जंगलमा भेटिएको थियो ।
झापा प्रहरीले गाउँले होटलका संचालक निरौलाको हत्यामा संलग्नलाई फेला पार्न नसकेको आलोचनाबीच बिर्तामोडमा अर्को हत्या भएपछि स्थानीय बासिन्दाले जिल्लाको शान्तिसुरक्षा कमजोर बनेको महसुस गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij