वेबटिभी खबर
बैतडी । बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णयकार्यान्वयन गर्न आग्रह गरेको छ । प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहलाई पत्र लेख्दै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र संघीय सरकारबाट निर्देशन भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको हो ।
माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो । सो निर्णयअनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, कलेज सञ्चालन गर्न पाइने छैन ।
विद्यालय, कलेजका पूर्व निर्धारित, जनशक्ति भर्ना, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा र चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
खोप कार्यक्रमलाई जिल्लाभर अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रहसमेत गरेको छ ।
यहाँका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म संक्रमण कारण १९ जनाको मृत्यु भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij