वेबटिभी खबर
लमजुङ । लमजुङमा यसवर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यसवर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा योवर्ष ८ टन मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी मदन रेग्मीकाअनुसार यस वर्ष ११ हजार ५ सय मौरी घारबाट ३० टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लाका किसानले ११ हजार १ सय मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको थियो ।
त्यस्तै २०७६ सालमा ९ हजार ५ सय मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो भने २०७५ सालमा ५ हजार ९ सय मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । यसवर्ष जिल्लामा प्रतिकिलोग्राम महको मूल्य ८५० देखि ९ सयसम्म रहेपनि किसानले १ हजारसम्ममा बिक्री गरेका छन् । महको बिक्रीबाट यस वर्ष १ करोड ३६ लाख आम्दानी गरेको सूचना अधिकारी रेग्मीले जानकारी दिए ।
उनकाअनुसार जिल्लामा उत्पादन गरिएको मह काठमाडौं, पोखरा, चितवनलगायत जिल्लाभित्रकै सहरबजारमा राम्रो खपत हुँदै आएको छ । बेँसीसहर नगरपालिका-४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले गत वर्ष ९६ क्विन्टल मह उत्पादन गरेक थिए ।
तर यस वर्ष असोज महिनामा बढी वर्षा भएका कारण जम्मा पौने ६ क्विन्टल मह उत्पादन भएको कृषक गुरुङको भनाइ छ । उनले भने, ‘मैले गत जेठमा २१५ वटा मौरीसहितको घार बिक्री गरे । यतिका मह १४१ वटा मौरीको घारबाट उत्पादन गरेका हुँ । यस वर्ष वर्षाले मेरो मात्र होइन, तुलानात्मक रुपमा अधिकांश कृषकको मह उत्पादन घटेको छ ।’
नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङकाअनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार र बेँसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिका रहेका छन् । शाखामा दर्ता भएका ३८२ जनाभन्दा बढी मौरीपालक किसान छन् ।
मौरीपालक किसानलाई मौरी व्यवसायमा आकर्षित गर्दै मह उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष कृषि ज्ञान केन्द्र, बेँसीसहर र सुन्दरबजार नगरपालिकालगायत विभिन्न स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा आधुनिक मौरी घार, मौरीसहितको मौरी घारलगायत विभिन्न उपकरणहरु वितरण गरेको थियो ।
जिल्लाको मध्येनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका-४, ५ र ६, सुन्दरबजार नगरपालिका-५ र बेँसीसहर नगरपालिका-२ लाई मौरी पकेट क्षेत्रका रुपमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।जिल्लामा २५ प्रतिशत अनुदानमा गोलासहितका ५ सय र खाली घार १ हजार २ सयवटा किसानलाई वितरण गर्नुका साथै मौरीजन्य उपकरणसमेत वितरण गरिएको केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij