वेबटिभी खबर
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई वार्षिक एकमुष्ट अनुदान कार्यक्रम कार्यान्वयन गर्ने विषयबारे ध्यानाकर्षण गराएको छ ।
केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापना समन्वय शाखाले (माघ २०) बिहीबार ७५३ वटै स्थानीय तहका विद्यालयहरूलाई ध्यानाकर्षण गराएको हो ।
‘यस केन्द्रको सूचना बमोजिम विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को शिक्षक दरबन्दी तथा राहत अनुदान प्राप्त नगरेका विद्यालयहरूलाई एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्ने १५० विद्यालयहरू मध्ये हालसम्म कुनै पनि शिक्षक दरबन्दी तथा राहत अनुदान प्राप्त नगरेका संलग्न लिष्ट बमोजिम सामुदायिक विद्यालयहरू (कक्षा १-५) लाई सम्बन्धित शिक्षा विकास समन्वय इकाइको सिफारिस एवम् यस केन्द्रको निर्णयअनुसार छनौट गरिएको छ । छनौट भएका सामुदायिक विद्यालयहरूले पाउने वार्षिक एकमुष्ट अनुदान (दश लाख) सम्बन्धित गाउँ/नगरपालिकाहरूमा वित्तीय हस्तान्तरण भइसकेको हुँदा आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तभित्रै माग गर्न हुनका साथै सम्बन्धित गाउँ/नगरपालिकाहरूले उक्त कार्यक्रमका लागि सम्बन्धित विद्यालयहरूसँग ‘वार्षिक एकमुष्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६’ बमोजिमको करार सम्झौता गरी रकम निकासा गरिदिनुपर्ने छ । केही विद्यालयहरूले सो कार्यविधि बमोजिमका केही शर्तहरू (भविष्यमा दरबन्दी नलिने) स्वीकार गरेको नदेखिएको हुँदा सबै शर्तहरू करार सम्झौता सम्पन्न अगावै पालना गराएर मात्र निकासा दिनु हुनका साथै गत आ.व मा एकमुष्ट अनुदान कार्यक्रम स्वीकृत भएका विद्यालयको निरन्तर अनुदान एलएमबीआइएस मार्फत् वित्तीय हस्तान्तरण भइरहने भएकाले प्रगति विवरणका आधारमा निकास गर्नुहुन यस केन्द्रको मिति २०७८/१०/२० को निर्णयअनुसार अनुरोध छ ।’ केन्द्रद्वारा जारी पत्रमा उल्लेख छ ।
हेर्नुहाेस् पत्र
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij