वेबटिभी खबर
काठमाडौं । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय सहयोगी (परिचर र लेखापाल) लाई संघीय सरकारले निर्धारण गरेको न्युनतम मासिक १५ हजार उपलब्ध गराएको छ ।
गत साउन महिनाबाट नै संघीय सरकारले निर्धारण गरेबमोजिमको तलब दिएको नगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र विष्टले जानकारी दिए ।उनका अनुसार नगरपालिकाले गत वर्षदेखि नै इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई मासिक १३ हजार ५०० रूपैयाँका दरले तलब उपलब्ध गराएको छ ।
संघीय सरकारले गत साउनबाट मासिक १५ हजार रूपैयाँ दिने निर्णय गरेपछि नगरपालिकाले इसीडी शिक्षकलाई मासिक १६ हजार रूपैयाँ, माध्यमिक तहका विद्यालय सहयोगीलाई १५ हजार ५०० रूपैयाँ, आधारभूत तहका सहयोगीलाई १५ हजार रूपैयाँ र लेखापाललाई मासिक १७ हजार रूपैयाँ उपलब्ध गराएको उनले बताए ।
पालिकाभित्रका सामुदायिक विद्यालयमा ४५ जना विद्यालय सहयोगी, ४६ जना इसीडी शिक्षक र १३ जना लेखापाल कार्यरत रहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij