वेबटिभी खबर
काठमाडौं । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालसँग आन्तरिक स्रोत नहुँदा सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले संघीय सरकारले तोकेको न्युनतम तलब पाउन सकेका छैनन् ।
गाउँपालिका शिक्षा शाखा अधिकृत सरोज अधिकारीले गाउँपालिकाको आन्तरिक स्रोत न्युन भएका कारण उनीहरूलाई पुरा तलब दिन नसकिएको जानकारी दिए ।
उनका अनुसार कर्मचारीलाई न्युनतम तलब दिन गाउँपालिकामा छलफल भएका छन् । तर, स्रोत ब्यवस्थापन हुन नसक्दा दिन भने सकिएको छैन ।
हाल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले मासिक ९ हजार ५०० रूपैयाँ र अन्य कर्मचारीहरूले संघीय सरकारले उपलब्ध गराएको तलब मात्रै पाउने गरेको उनको भनाइ छ ।
संघीय सरकारले इसीडी शिक्षक र विद्यालय सहयोगीका लागि मासिक ८ हजार रूपैयाँ र लेखापालका लागि मासिक १३ हजार ५०० रूपैयाँ उपलब्ध गराउँछ ।
अहिले पालिकाभिका सामुदायिक विद्यालयमा ५३ जना इसीडी शिक्षक, ४० जना विद्यालय सहायोगी र १२ जना लेखापाल कार्यरत रहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij