वेबटिभी खबर
झापा । झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर फरार रहेका छन् । दमक-८ निवासी ५२ वर्षीय खनाल गत मंसिर महिनादेखि सहकारीसहित विभिन्न ७ व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन् ।
उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकोमा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् ।
अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते लिखितरूपमा जानकारी गराएका थिए ।
अध्यक्ष बेपत्ता भएपछि दमक-७ मा रहेको सहकारीको कार्यालय गत मंसिर २९ गतेदेखि नै बन्द भएको छ । पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक-८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक-५ का राजु गौतमको ४ लाख, दमक-९ का टेकबहादुर योञ्जनको ८ लाख, दमक-९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक-६ का डिल्लीराम प्रसाईँको २ लाख, कमल गाउँपालिका-४ का गौरी राईको २ लाख र कमल-४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।
सहकारीको ठगी विषयमा उजुरी गरिएपनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले उक्त विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले घटना बाहिर ल्याउनुपरेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij