वेबटिभी खबर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अंकको पहिरो गएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१ दशमलव २४ अंकले घटेर २ हजार ७ सय ३२ दशमलवमा पुगेको हो ।
यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अंकले ओरालो लागेर ५११.६६ अंकमा पुगेको छ । आजको कारोबारमा कूल २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ ।
यस दिन नेप्सेकाअनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अंकले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । उक्त कम्पनीको ३२ करोड ८४ लाख ८ हजार ९४४ बराबरको कारोबार भयो ।
यस्तै अरुणभ्याली हाइड्रोपावर २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयर मूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ ।
त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij