रेश्मा सिंह
काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको तथ्यांकले देखाएको छ । कोरोना संक्रमित थपिएसँगै आममानिसमा फेरि लकडाउनको स्थिति सिर्जना हुने त होइन भन्ने आशंका थपिएको छ ।
मैतिदेवीस्थित तरकारी व्यापार गरेर ६ जनाको परिवार पालिरहेका राम बस्नेतको मनमा देशमा फेरि लकडाउन हुन्छ कि भन्ने पीर पर्न थालेको छ । ‘पहिले लकडाउनको समयमा पसल बन्द गरेर बस्नु पर्दा व्यापार ठप्प भएर आयस्रोत बन्द भयो । पसलभाडा मात्र करिब २ लाख नाघेको थियो । त्यतिबेला थोरै जम्मा पूँजी भएकाले सहज भएपनि पछिल्लो समय खासै व्यापार भएको छैन । खानबस्न परिहाल्यो,’ उनले भने ।
गतवर्षको लकडाउनबाट पूर्णरूपमा बाहिर ननिस्कँदै फेरि लकडाउन हुने हल्ला छ लकडाउन हुन्छ भन्ने चासो उनले व्यक्त गरे । अब फेरी लकडाउन भए कसरी दैनिकी धान्ने भन्ने सोचेरै डर लाग्ने गरेको उनले बताए ।
गत १० चैत्र ०७६ मा सुरु भएको झन्डै चार महिने लामो लकडाउनले धेरैको जीवनलाई उथल-पुथल पारेको थियो । जताततै कहाली लाग्दो अवस्था देखिएको थियो । उपत्यकामा सानोतिनो व्यवसाय, रोजगारी गर्दै जीवनयापन गरिरहेका व्यक्तिले दुःखद् अवस्थाको सामाना गर्नुपरेको थियो ।
देशको आर्थिक संरचनामा भार परिरहेको बेलामा एकाएक कोरोना संक्रमण फैलिएर लकडाउनको स्थिति सिर्जना हुने अवस्थाको कल्पना समेत सकिन्न । केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका थिए । शिक्षण संस्थालाई बन्द गराएर भर्चुअल माध्यमबाट पठन-पाठन गर्ने सरकारको तयारी रहेको मन्त्री त्रिपाठीको भनाइ छ ।
भारतमा विकेन्ड लकडाउन सुरु
छिमेकी राष्ट्र भारतमा दिनदिनै कोरोना संक्रमित थपिने क्रम जारी छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै भारतले कोरोनाको हटस्पट बनेको महाराष्ट्रमा आज (शुक्रबार) बाट लकडाउन गरिएको छ । आज साँझदेखि सोमबार बिहानसम्म (विकेन्ड लकडाउन) लकडाउन गरिएको छ ।
आज साँझदेखि कडा लकडाउन गरिने भएकोले त्यहाँ दैनिक उपभोग्य सामान खरिदका लागि बिहानैदेखि बजारमा ग्राहकको भिड लागेको छ । यस्तै मध्यप्रदेशका पनि सबै सहरमा विकेन्ड लकडाउन लगाइएको छ । विकेन्ड लकडाउन शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागु हुनेछ ।
मध्यप्रदेशका केही सहरमा भने बिहीबारदेखि नै सातदिनका लागि लकडाउन गरिएको छ । भारतमा लकडाउनको स्थिति सिर्जना भएसँगै धेरैको मनमा नेपालमापनि लकडाउन हुन सक्ने भय उत्पन्न भएको छ ।
भिडभाड हुने क्षेत्रमा कडाइ गर्दै सरकार
छिमेकी मुलुकमा संक्रमण तीव्र भएपछि नेपालमा पनि जोखिम बढेको छ । नेपाल-भारत खुल्ला सिमानाकाबाट नेपालीहरु नयाँ वर्षको अवसर पारेर स्वदेश फर्किरहेका छन् । सीमामा चेकजाँच फितलो रहेको जनगुनासो पनि सुनिँदै आएको छ । पछिल्लो तीन हप्तायता नेपालमा पनि कोरोना ग्राफ उकालो लागेको छ । भारतबाट आउनेहरूबाट नेपालमा नयाँ भेरियन्ट आएको आशंकामा पन्ध्रवटा नमुना परीक्षणको लागि विश्व स्वास्थ्य संगठनको प्रयोगशाला हङकङ पठाइएको छ ।
यस्तो छ बुधबारयताको ग्राफ
बुधबारमात्रै तीन महिनायताकै उच्च संख्यामा संक्रमित थपिएका थिए । बुधबार ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना दिनानुदिन बढ्दै गइरहेकोले सरकारले २५ चैत्रमा सुचना जारी गर्दै रात्रिकालिन सेवा ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड-१९ ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले पछिल्लो समय विद्यार्थीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शैक्षिक संस्था अनलाइनबाट सञ्चालन गर्न अनुरोध गरेको बताए ।काठमाडौं, पोखरालगायतका ठूला शहरमा कोरोनाको नयाँ भाइरस फैलिँदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
‘विश्वमा तीन प्रकारका कोरोना भाइरस’
हाल विश्वमा तीन प्रकारका कोरोना भाइरस फैलिएका छन् । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भाइरस बढी संक्रामक रहेको पाइएको छ । तिनै भेरियन्ट भारतमा फैलिएको हुँदा नेपालमा पनि थप जोखिम रहेको महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले जानकारी दिए ।
जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्यौ
नेपालले समयमै आवश्यक सावधानीसहितका उपाय पहिल्याउन आवश्यक रहेको जनस्वास्थ्यविद्ले बताएका छन् । छिमेकी देश भारतमा कोरोना भाइरसको दोस्रो चलिरहेको छ । भारतमा दोस्रो लहर बढेपछि रोजगारीका शिलशिलामा भारत गएका व्यक्ति स्वदेश फिर्ता हुन थालेका छन् ।
त्यसैगरी अन्य देशहरूबाट हवाइ मार्ग हुँदै आएका व्यक्तिले जनस्वास्थ्यका मापदण्डको अवज्ञा गरे कोरोना बढ्ने जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले जानकारी दिए । नेपालमा कोरोनाको दोस्रो लहर चल्ने सुरुवाती चरणमा रहेको छ । नेपालमा कोरोना संक्रमण बढ्नुमा बढिरहेको बेला धेरैमा पुनः लकडाउन हुन सक्ने आशंका पैदा भएको उनको तर्क छ ।
‘हामीले लकडाउनको वातावरण सिर्जना हुन नदिन कडाइको साथ जनस्वास्थ्यका मापदण्ड अपनाउन जरुरी छ । लामो समय लकडाउन गरियो भने सर्वसाधारणलगायत पुरै राज्यलाई आर्थिक भार पर्छ । कोरोना संक्रमण नियन्त्रणको विकल्प लकडाउन होइन,’ उनले भने ।
'लकडाउन नै अन्तिम विकल्प भएको भए नेपालमा दुई जनामा कोरोना संक्रमण देखिनेबित्तिकै सुरु भएको लकडाउन २० हजार पुग्दा किन नियन्त्रण हुन सकेन,' उनले प्रतिप्रश्न गरे । रात्रिकालीन सेवालाई सरकारले बन्द गर्न आदेश दिएको छ । आम नागरिकले भोलिका दिनमा लकडाउन, व्यवसाय बन्द गर्ने होइन भने कडाइका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।
डा.पाण्डेकाअनुसार भिडभाडलाई नगर्ने, स्यानिटाइजरको प्रयोग, नियमित मास्कको प्रयोगमा जोड दिनुपर्छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि हामीलाई नै घाटा हुन्छ त्यसैले बेलैमा सावधानी अपनाउन जरुरी रहेको छ । अहिले रात्रिकालीन सेवा बन्द गर्यौं । शिक्षण संस्थालगायत अन्य व्यापार, व्यवसाय बन्द गर्यौं भने लामो समयसम्म देशले अर्थतन्त्रलाइ धान्न सक्दैन ।
सरकार र आमसर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्वन गर्न जरुरी रहेको उनको भनाइ छ ।
‘लकडाउन समस्याको समाधान होइन । लकडाउन दुई अवस्थामा गर्न सकिन्छ । एउटा महामारी आयो तर हामीसँग तयारी छैन । अर्को महामारी फैलिएर अस्पतालमा उपचारको लागि गाह्रो भएको अवस्थामा लकडाउन गर्न सकिन्छ । यी दुईवटा वाहेक अन्य अवस्था लकडाउन गर्न आवश्यक छैन,’ उनले अगाडी थपे, ‘अब हामीले पहिलो अवस्था पार गरिसेका छौं । पहिलो चरणमा सरकारले तर्फबाट भएका कमीकमजोरीलाई मध्यनजर गरेर सरकारले बाटो पहिल्याउनु पर्छ ।’
उनकाअनुसार सरकारले सीमानामा कडाइ गर्नुपर्छ । कोरोना भाइरस परीक्षणमा कडाइ गर्नुपर्छ । जुन पहिलेको अवस्थामा गर्न सकेको थिएन र अहिले पनि त्यही अवस्था छ ।पहिलो चरण र अहिलको अवस्था सरकारका तर्फबाट पनि धेरै सुधार भएको उनको बुझाइ छ । पहिले परीक्षणको दायरा साँघुरो थियो, अहिले फराकिलो छ ।
कन्ट्राक टे«सिङ्मा पहिले एकदमै सिथिल अवस्थामा थियो तर अहिले कन्ट्राक टे«सिङ कडा रुपमा भएको छ । सरकारलाई कडाइका साथ जनस्वास्थ्यका मापदण्ड अवलम्बनमा जोड दिन उनले सुझाए । हरेक जिल्लामा अक्सिजन बेडको व्यवस्था गर्न पर्यो । खोपको लागि पनि सरकारले जतिसक्यौ चाँडो पहल गर्न जरुरी रहेको छ । सबै नागरिकले सचेत र सजग भइ जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij