सर्लाही । मंसीर यता तीन महिनामा सर्लाहीबाट ५६ लाख ७१ हजार एक सय किलो गोलभेडा देशका विभिन्न सहरमा निर्यात भएको छ । गोलभेडाका लागि ख्याती कमाएको सर्लाहीबाट प्रत्येक वर्ष करोडौं रुपैयाँको गोलभेडा बिक्री हुने गरेको छ ।
सिंचाई सुविधा कम भएको चुरे फेदीका फाँटमा गोलभेडाको उत्पादन निकै राम्रो हुने गरेको छ । कर्मैया, हरिवन, ढुंग्रेखोला, सासापुर, चापिनी, पथ्थरकोट, लालबन्दी, हिरापुर, नवलपुरलगायतका क्षेत्रमा गोलभेडाको उत्पादन निकै बढी हुने गर्छ ।
किसानले उत्पादन गरेको गोलभेडा देशभरिका सहरमा निर्यात हुँदै आएको छ । सर्लाहीमा उत्पादित गोलभेडाको मुख्य बजार भनेको काठमाडौं उपत्यका हो । सबैभन्दा बढी गोलभेडाको खपत काठमाडौंमा हुने गरेको थोक व्यापारी बिगु चौधरीले बताए ।
त्यसैगरी पोखरा, बुटवल, इटहरी, विराटनगर, वीरगंज, जनकपुरलगायतका सहरमा पनि सर्लाहीका गोलभेडा निर्यात हुँदै आएको छ । मंसीरदेखि माघ महिनासम्ममा निर्यात भएका गोलभेडाको औषत मुल्य राख्दा झण्डै १२ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ ।
लालबन्दी कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जिल्लाबाहिरका सहरमा भएका निर्यातबाट मात्र १२ करोडभन्दा बढी नगद किसानले भित्र्याएको बताए ।
त्यसबाहेक जिल्लाभित्र पनि गोलभेडाको खपत व्यापक हुने गर्छ । सबै जोड्दा तीन महिनाको अवधिमा करिब १५ करोडको गोलभेडा उत्पादन भइ बिक्री भएको अनुमान छ । गोलभेडाका लागि सर्लाही देशभर नै चिनिएको छ ।
देशभरमै सबैभन्दा बढी गोलभेडा उत्पादन सर्लाहीमा हुने गर्छ । सर्लाहीका सासापुर, नवलपुर र लालबन्दीबाट दैनिक दर्जनौं ट्रकमा गोलभेडा विभिन्न सहरमा जाने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij