रेश्मा सिंह
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ ।
सरकारले भिडभाड हुने क्षेत्र रात्रीकालिन व्यवसाय, सपिङ मल, नाचघर, सिनेमा हल,पार्टी प्यालेस, हेल्थ क्लब, तथा मन्दिर आदिमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ लागू गर्न सरोकारवालालाई निर्देशन दिएको छ ।
यस्तै पछिल्लो समय कोरोनाको हटस्पट स्कूल बन्न सक्ने भन्दै मन्त्रालयले प्रत्यक्ष पठनपाठन बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ ।
पछिल्लो दिनमा कोरोना ग्राफ उकालो लागेपछि धेरै सर्वसाधारणलाई लकडाउन हुन सक्ने आशंका पैदा भएको छ । गत वर्षको लकडाउनपछि आम सर्वसाधारण सामान्य जनजीवनमा फर्किरहेका थिए । तर सरकारले केहीदिन यता विभिन्न स्थानमा कडाइ गर्न थालेपछि सबैको ध्यान लकडाउनतिर गइरहेको छ ।
देशमा पुनः लकलकाउनको अवस्था सिर्जना हुन नदिन सर्वसाधारणलाई नआत्तिएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेले सुझाएका छन् ।
सरकारले गर्नुपर्ने कार्य
१. सीमानामा कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्ने, होल्डिङ सेन्टर/क्वारेन्टीनको सुरक्षित व्यवस्था गर्ने । अवैध प्रवेश रोक्ने । सुरक्षाकर्मी र सीमावासीको संयुक्त गस्ती गर्ने,
२. कन्ट्याक्ट ट्रेसिङलाई छरितो र प्रभावकारी बनाउने,
३. संक्रमित स्थान पत्ता लगाएर त्यहाँबाट हुने आवागमन नियमन गर्ने,
४. परीक्षणको दायरा र प्रकार (पीसीआर, एन्टीजेन, डाइरेक्ट पीसीआर, छातीको एक्स रे आदि) बढाउने,
५.हरेक जिल्लामा अक्सिजन बेड, गुणस्तरीय उपचार तथा सघन उपचारको व्यवस्था गर्ने । प्लाज्मा बैंक स्थापना गर्ने । एन्टीभाइरल औषधि तथा जीवनरक्षक औषधिको पर्याप्त स्टक राख्ने,
६. जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा पालना गर्ने/गराउने । लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गर्ने ।
आम नागरिकले तत्काल पालना गर्नुपर्ने काम
१. सबैले घरबाहिर जाँदा अनिवार्य रूपमा, नाक र मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउने । सम्भव भए डबल मास्क लगाउने । मास्क नलगाएको व्यक्तिलाई मास्क दिने । नाकमुनि वा चिउँडोमा मास्क झुन्ड्याउनेलाई सही तरिकाले मास्क लगाउन अनुरोध गर्ने । मास्कविना पसल, कार्यालय, यातायात आदि क्षेत्रमा निषेध गर्ने,
२.भीडभाड नगर्ने, भीडमा नजाने, बैठक वा भेटघाट गर्नुपरेमा खुला ठाउँमा वा भेन्टिलेसन पर्याप्त भएको ठाउँमा मात्र गर्ने,
३. पटक-पटक हात धुने । साबुनपानी नभएमा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने,
४. सरकारले समय-समयमा दिने सूचना, निर्देशन आदि पालना गर्ने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij